‘भिजिट भिसा काण्ड नेपालीको सपना र भविष्यमाथिको सुनियोजित ढकैती हो’

‘भिजिट भिसा काण्ड नेपालीको सपना र भविष्यमाथिको सुनियोजित ढकैती हो’

काठमाडौँ, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौँ नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित ढकैती भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उहाँले युवाहरुको बिवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको भन्दै यसले देशलाई छिट्टै नै भ्रष्टाचारको म्युजियम बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवाहरुको बिवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ । यो सिन्डिकेटले कहिले भुटानी शरणार्थीको रुपमा देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ । कहिले सुनलाई बिस्कुट भनेर भित्राउँछ । लाग्छ अब यो देश छिट्टै नै भ्रष्टाचारको म्युजियम बन्दैछ । यसको सूचीमा नयाँ काण्ड थपिएको छ । भिजिट भिसा काण्ड यो सामान्य ठगी होइन, यो हजारौँ नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित ढकैती हो । सरकारले यसमाथि छानबिन गर्नुपर्छ ।”

यस्तै, उहाँले सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक महिनादेखि यो सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको छ र हामीलाई यसको दर्शक बन्न बाध्य पारिएको छ । सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्छ । आज लाखौँ युवा रोजगारीको खोजीमा मरुभूमिका पसिना बगाइरहेका छन् । यो उनीहरुको रहर होइन देश हाक्नेहरुको असफलताले जन्माएको राष्ट्रिय विवशता हो ।”

रास्वपा संख्यामा थोरै भए पनि कमजोर नभएको भन्दै रास्वपाले आफ्नो माग कायमै राख्ने पनि उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *