काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका- ७ मा १६ दिने सुत्केरीको हत्यामा उनकै सहोदर देवरको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ । १९ वर्षीया तुलसी नाथको हत्या सुनका गहना र पुरानो रिसइबीका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
पक्राउ परेका देवर नवीन नाथले भाउजू सुतिरहेको अवस्थामा सिरानीले मुख थुनेर हत्या गरेको र कानका सुनका रिङ लुटेको बयान दिएका छन् । हत्यापछि प्रमाण नष्ट गर्न उनले शवलाई घर नजिकैको नालीमा फालेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार, प्रारम्भमा शवमा कुनै बाहिरी चोट नदेखिँदा घटना शंकास्पद बनेको थियो । तर, मृतकले लगाएका सुनका गहना हराएपछि अनुसन्धान हत्यातर्फ सोझिएको थियो ।
नवीनको बयान बाझिँदै गएपछि उनीमाथि शंका बढेको र पछि उनले लुकाएका गहनाबारे आफ्नै बुवालाई जानकारी दिएपछि घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
नवीनले आफूलाई भाउजूले हेप्ने गरेको र त्यही रिसइबीका कारण हत्या गरेको बताएका छन् । कैलालीका प्रहरी प्रमुख एसपी बाल नर सिंह रानाले सूक्ष्म अनुसन्धानबाट यो जटिल घटनाको सफल पटाक्षेप भएको बताए । अभियुक्तलाई कानुनबमोजिम कडा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।