काठमाडौं । इरानका प्रमुख आणविक स्थलहरूमाथि सफल आक्रमण गरेको दाबीको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानलाई कडा चेतावनी दिएका छन् । धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको भन्दै उनले इरानलाई चेतावनी दिएका हुन् ।
उनले आफ्नो सम्बोधनमा इरानसँग अब दुई मात्र विकल्प रहेको बताए- ‘कि त शान्तिको बाटो रोज्नु, नत्र अहिलेसम्मकै सबैभन्दा ठूलो विनाशको सामना गर्नु ।’
सम्बोधनका क्रममा ट्रम्पले यस सैन्य कारबाहीमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई विशेष धन्यवाद दिए । अझै धेरै इरानी लक्ष्यहरू निशानामा रहेको बताउँदै भने, ‘अब इरानले शान्तिको बाटो रोज्नुपर्छ । यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठूला र सजिला हुनेछन् ।’
आक्रमण गरिएका स्थलहरूको संवेदनशीलता उल्लेख गर्दै उनले थपे, ‘मानिसहरूले वर्षौंदेखि फोर्डो, नटान्ज र इस्फहानको नाम सुन्दै आएका थिए, किनभने त्यहाँ खतरनाक र विनाशकारी योजनाहरू बनिरहेका थिए । म संसारलाई भन्न चाहन्छु कि आज रातिका आक्रमणहरू पूर्ण रूपमा सफल भएका छन् ।’
आफ्नो सम्बोधनको अन्त्यमा उनले इरानलाई अन्तिम चेतावनी दिँदै भने, ‘कि त अब शान्ति हुनेछ, नत्र इरानले विगत आठ दिनमा देखेको भन्दा धेरै ठूलो त्रासदीको सामना गर्नेछ ।’
ट्रम्पको शक्तिबाट शान्तिको रणनीतिलाई इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि समर्थन गरेका छन् । उनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्प र म प्रायः भन्छौँ- शक्तिमार्फत शान्ति । पहिले शक्ति आउँछ, अनि मात्र शान्ति ।’
यसअघि, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आक्रमण सम्पन्न भएको घोषणा गरेका थिए । उनले लेखेका थिए, ‘हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा अरू कुनै सेना छैन जसले यो गर्न सक्थ्यो । अब शान्तिको समय हो ।’