
काठमाडौँ, २२ जेठ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल सरकारले आर्थिक समृद्धि र वातावरण संरक्षणलाई एकअर्काको प्रतिस्पर्धी नभइ परिपूरकका रूपमा हेरेको बताउनुभएको छ ।
शुक्रबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तन न्यूनीकरणलाई सरकारले राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अघि बढाइरहेको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै विकासका लागि आवश्यक स्रोत परिचालन गर्ने नीति सरकारले अवलम्बन गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारले आर्थिक समृद्धि र वातावरण संरक्षणलाई एकअर्काको प्रतिस्पर्धी होइन परिपूरकको रुपमा हेरेको छ । सरकारले जलवायु परिवर्तन,न्यूनीकरणलाई राष्ट्रि विकासको योजनाको अभिन्न अङ्गको रुपमा अगाडि बढाइरहेको छ । जलवायु परिवर्तनको कारण उत्पन्न चुनौतीहरुलाई अवसरमा बदल्दै विकासको लागि आवश्यक स्रोत परिचालन गर्ने नीति अगाडि सारेका छौँ ।”
मन्त्री चौधरीले नेपाल वन क्षेत्रको उल्लेखनीय हिस्सा रहेको विश्वका केही मुलुकमध्ये एक भएको बताउँदै सामुदायिक वन व्यवस्थापन, स्थानीय समुदायको सहभागिता तथा जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको धारणा राख्नुभयो ।
उहाँले सामुदायिक वन व्यवस्थापन र संरक्षणका क्षेत्रमा हासिल भएका उपलब्धिले विश्वसामु नेपालको विशिष्ट पहिचान स्थापित गरेको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ बनाउन जडीबुटीलगायत वनजन्य उत्पादनको मूल्य अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संरक्षणबाट समृद्धि हासिल गर्ने सोचलाई व्यवहारमा उतार्ने समय आएको बताउँदै मन्त्री चौधरीले वातावरण संरक्षण र दिगो विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल विश्वका केही ती मुलुकमध्ये पर्दछ जहाँ वन क्षेत्रले कुल भागको उल्लेखनीय हिस्सा ओगटेको छ । सामुदायीक वन व्यवस्थापन र संरक्षण क्षेत्रमा स्थानीय समुदायको सहभागिता तथा जैविक विविधता संरक्षणको क्षेत्रमा हासिल गरेका उपलब्धिहरु विश्वसामु नेपालको विशिष्ट पहिचान स्थापित गरेका छन् । यसलाई अझ सुदृढ बनाउन जडिबुटीलगायतको मूल्य अभिवृद्धि गर्दै संरक्षणबाट समृद्धि भन्ने सोचलाई व्यवहारमा उतार्ने बेला आएको छ ।”