रमा तिवारी हत्या प्रकरण : झापा प्रहरीले सार्वजनिक गर्‍यो मुख्य आरोपित

तेजन खड्का झापा, २२ जेठ । झापा प्रहरीले दमक–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भारतको अररिया घर भइ दमकमा बस्दै आएका ३४ वर्षीय रमेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो । घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले सार्वजनिक गरेका विवरणअनुसार रकमको विवादका क्रममा भारतीय नागरिकले रमा तिवारीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित लामो समयदेखि दमक तथा आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानको काम गर्दै आएको प्रहरीले जनाएको छ । गत जेठ १६ गते दमक नगरपालिका–१० को सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बोराभित्र महिलाको शव फेला परेको...

रमा तिवारी हत्या प्रकरण : झापा प्रहरीले सार्वजनिक गर्‍यो मुख्य आरोपित
तेजन खड्का

झापा, २२ जेठ । झापा प्रहरीले दमक–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भारतको अररिया घर भइ दमकमा बस्दै आएका ३४ वर्षीय रमेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो । घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले सार्वजनिक गरेका विवरणअनुसार रकमको विवादका क्रममा भारतीय नागरिकले रमा तिवारीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित लामो समयदेखि दमक तथा आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानको काम गर्दै आएको प्रहरीले जनाएको छ ।

गत जेठ १६ गते दमक नगरपालिका–१० को सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बोराभित्र महिलाको शव फेला परेको थियो । पछि उक्त शव दमक–८ निवासी रमा तिवारीको रहेको पुष्टि भएपछि प्रहरीले घटनाको गम्भीर अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार मृतक र आरोपितबिच पहिलेदेखि चिनजान रहेको र रकमको लेनदेनका विषयमा उत्पन्न विवादले हत्या भएको निष्कर्षमा अनुसन्धान पुगेको छ । हत्या गरेपछि शवलाई मोटरसाइकलमा राखेर रतुवा खोलाको पुलमुनि पुर्‍याइ बोराभित्र राखेर फालिएको प्रहरीले जनाएको छ ।

मोबाइल फोनको कल डिटेल, लोकेसन ट्रयाकिङ, डिजिटल प्रमाण तथा स्थानीय व्यक्तिहरूको बयानका आधारमा प्रहरीले आरोपितसम्म पुग्न सफल भएको जनाएको छ । घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान लगभग सम्पन्न भएको र सङ्कलित प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ । मृतकका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने स्थानीयवासीले घटनाको सफल अनुसन्धान गरेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *