
काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले)की नेतृ राम कुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।
बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अस्ति २१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना लोकतान्त्रिक–प्रजातान्त्रिक दलहरू पराजित हुँदा एउटा नयाँ शक्तिको उदय भएर नयाँ युग सुरू हुन्छ भन्ने अपेक्षा थियो । तर, नीति तथा कार्यक्रम हेर्दा यो पुरानै कार्यक्रमको निरन्तरता जस्तो मात्र देखिन्छ ।”
झाँक्रीले सरकारले सुशासन र आर्थिक विकासका एजेन्डा उठाए पनि व्यवहारमा निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको आरोप लगाउनुभयो ।
उहाँका अनुसार सुशासनको नाममा निजी क्षेत्र तथा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणलाई सहज बनाउनुपर्नेमा त्यसलाई अवरोध गर्ने प्रवृत्ति देखिएको छ । उहाँले भन्नुभयो, “सुशासन भनेको पहिला थुनेर सुन्ने होइन, सुनेर मात्र थुन्ने हो कि भन्ने सुझाव सरकारलाई दिन चाहन्छु ।”
उहाँले राज्यले काम गर्ने वातावरण बनाउनुपर्नेमा नागरिक र निजी क्षेत्रलाई आतंकित गर्ने, तर्साउने र दबाब सिर्जना गर्ने शैली अपनाइएको आरोपसमेत लगाउनुभयो ।