
काठमाडौँ, ३१ वैशाख । नेकपा (एमाले)का सांसद डा.अर्जुन कुमार कार्कीले नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानसँग जोडिएका राष्ट्रिय विकासका एजेन्डामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो मुलुको पररास्ट्र नीति खास गरेर आर्थिक कूटनीतिलाई महत्त्व दिनु पर्ने अवस्थामा हामी रहेको छौँ । हाम्रो देशले अन्य कुनै सामरिक महत्त्वको प्रश्न परराष्ट्र नीति र कार्यक्रमभन्दा हाम्रो सार्वभौमता, स्वधिनता र स्वाभिमानसँग सम्बन्धित राष्ट्रिय विकासका एजेन्डा हरूमा अन्तर्राष्ट्रिय साहयता परिचालन गर्न विशेष महत्त्वका साथ हामी लाग्नु सक्नु पर्दछ ।”
उहाँले नेपाल अझै पनि अति कम विकसित राष्ट्रको सूचीमा रहेको स्मरण गराउँदै विकासशील राष्ट्रको स्तरमा उक्लिन आर्थिक कूटनीतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सांसद कार्कीले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट वैदेशिक सहायता, लगानी र विकास साझेदारी आकर्षित गर्न परराष्ट्र सम्बन्धलाई आर्थिक हितसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँका अनुसार राज्यले आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने छ । साथै गरिबी निवारण, विकास पूर्वाधार विस्तार तथा नेपाललाई विकासशील राष्ट्रको श्रेणीमा पुर्याउने लक्ष्य हासिल गर्न समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।