निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ, २६ वैशाख । मुस्ताङस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ । निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्‌मा गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणले जनाएको छ । इन्द्रबक्स गणद्वारा आयोजित अभ्यासको अन्तिमदिन शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ड्रमक्याम्पमाथिको निलगिरि हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो । प्रतिकूल मौसम, हिमपातकालगायत प्राकृतिक विपद्‌मा निलगिरिसहित हिमनदीमा केही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले बताउनुभयो । उहाँका अनुसार इन्द्रबक्स गण, सैनिक उच्चशिखर शिक्षालय र मनाङको भैरव गुल्मका सैनिकले खोज तथा उद्धारको नमुना अभ्यास गरेका हुन् । प्रमुख सेनानी खाँडका अनुसार मुस्ताङ र मनाङका ५५ जनाभन्दा बढीले हिमाली क्षेत्रमा आइपर्ने प्राकृतिक विपद्सम्बन्धी खोज तथा उद्धार अभ्यासमा सहभागिता जनाएका हुन् । उहाँले २३ नम्बर बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायकरथी विजय केशीको उपस्थितिमा समुद्री सतहबाट चार...

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ, २६ वैशाख । मुस्ताङस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ । निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्‌मा गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणले जनाएको छ ।

इन्द्रबक्स गणद्वारा आयोजित अभ्यासको अन्तिमदिन शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ड्रमक्याम्पमाथिको निलगिरि हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो । प्रतिकूल मौसम, हिमपातकालगायत प्राकृतिक विपद्‌मा निलगिरिसहित हिमनदीमा केही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले बताउनुभयो । उहाँका अनुसार इन्द्रबक्स गण, सैनिक उच्चशिखर शिक्षालय र मनाङको भैरव गुल्मका सैनिकले खोज तथा उद्धारको नमुना अभ्यास गरेका हुन् ।

प्रमुख सेनानी खाँडका अनुसार मुस्ताङ र मनाङका ५५ जनाभन्दा बढीले हिमाली क्षेत्रमा आइपर्ने प्राकृतिक विपद्सम्बन्धी खोज तथा उद्धार अभ्यासमा सहभागिता जनाएका हुन् । उहाँले २३ नम्बर बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायकरथी विजय केशीको उपस्थितिमा समुद्री सतहबाट चार हजार ३०० मिटर उचाइमा अवस्थित निलगिरि हिमनदीको खोचमा अभ्यास गरेको जानकारी दिनुभयो ।

अभ्यासस्थलमा सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशील प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी खाँडसहितको उपस्थिति थियो । नेपाली सेनाद्वारा आयोजित यसप्रकारको अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म हेडक्वाटर जोमसोम, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।

विगतमा हुड्हुड चत्रवातका कारण यहाँका कैसाङ हिमनदी इलाकामा पर्यटक हिमपात र हिमआँधीमा फसेका परिदृष्यलाई आधार बनाएर मुस्ताङका सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायलाई सहभागी गराई खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको प्रमुख सेनानी खाँडले उल्लेख गर्नुभयो ।

डोरीको सहायताले झुन्डिएर खोचमा फसेका पदयात्री तथा शवलाई बाहिर निकाल्ने कृतिम अभ्यास गरिएको थियो । कैसाङ हिमनदी क्षेत्रको उचाइमा बेपत्ता भएका पर्यटक तथा पदयात्रीको खोजीका लागि नेपाली सेनाका दुई वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको प्रमुख सेनानी खाँडले जानकारी दिनुभयो ।

यसअघि अभ्यासको पहिलोदिन मुस्ताङको जोमसोमस्थित सैनिक क्याम्प नजिकैको पहाडमा खोज तथा उद्धार अभ्यास गरेको थियो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यलाई सहज बनाउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *