साँस्कृतिक पर्व : ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

शुरबहादुर सिंह कर्णाली, २३ चैत । ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु’ अर्थात् (चैतको १२ गतेसम्म पनि घर पुगेन भनेर जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । कथनी भए पनि करणीसँग मेला खाने यस भनाइले यहाँको सामाजिक र सांस्कृतिक जीवनसँग अन्तरसम्बन्ध राख्दछ । खासगरी असोज कात्तिकमा धान, कोदो, फापरलगायतका बाली भण्डारण गरेर कालापहाड जाने कर्णालीवासीको जीवनशैलीसँग अन्तरसम्बन्धित कथा बोकेको ऐतिहासिक महत्वको दिन हो, चैत १२ गते अर्थात् बारुवाँ । यसलाई जुम्लाले विशेष महत्व दिएर ‘मुठो रोपेर मुरी उत्पादन’ गर्ने शुभदिनका रुपमा मनाउने गर्दछ । कर्णाली प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर २०७६ चैतको १२ गतेलाई जुम्लाको धान दिवस मनाउने गरी सार्वजनिक विदा दिँदै आएको छ । त्यसै अनुसार धान दिवसका रुपमा जुम्लालाई चैत १२ गते सार्वजनिक विदा दिइन्छ । यही दिनबाट धानको बीउ उमार्न कृषकहरुले चार/चार दिनको फरक पारेर बेर्नामा छर्ने बीउ तयार पार्दछन् । कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका...

साँस्कृतिक पर्व : ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’
शुरबहादुर सिंह

कर्णाली, २३ चैत । ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु’ अर्थात् (चैतको १२ गतेसम्म पनि घर पुगेन भनेर जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । कथनी भए पनि करणीसँग मेला खाने यस भनाइले यहाँको सामाजिक र सांस्कृतिक जीवनसँग अन्तरसम्बन्ध राख्दछ ।

खासगरी असोज कात्तिकमा धान, कोदो, फापरलगायतका बाली भण्डारण गरेर कालापहाड जाने कर्णालीवासीको जीवनशैलीसँग अन्तरसम्बन्धित कथा बोकेको ऐतिहासिक महत्वको दिन हो, चैत १२ गते अर्थात् बारुवाँ । यसलाई जुम्लाले विशेष महत्व दिएर ‘मुठो रोपेर मुरी उत्पादन’ गर्ने शुभदिनका रुपमा मनाउने गर्दछ ।

कर्णाली प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर २०७६ चैतको १२ गतेलाई जुम्लाको धान दिवस मनाउने गरी सार्वजनिक विदा दिँदै आएको छ । त्यसै अनुसार धान दिवसका रुपमा जुम्लालाई चैत १२ गते सार्वजनिक विदा दिइन्छ । यही दिनबाट धानको बीउ उमार्न कृषकहरुले चार/चार दिनको फरक पारेर बेर्नामा छर्ने बीउ तयार पार्दछन् ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार जुम्लाले चैत महिनालाई ‘बारुवाँ (१२ गते), सोरुवाँ (१६ गते) र बिसुँवा (२० गते)’ पर्वका रुपमा मनाउँछ । चैत १२ गते नदी वा खोला किनारको पानीमा धान भिजाउने, चैत १६ त्यहाँबाट निकाल्ने र चैत २० गते आलीमा बीउ छर्ने दिन सामाजिक तथा सांस्कृतिक दृष्टिले सम्पन्न मानिन्छ । यो पर्व अहिले पनि विद्यमान छ र नागरिकले यसलाई निरन्तरता दिइरहेका छन् । खासगरी आज जुम्ली किसानहरुले वर्षभरि लगाउने सबै खेतबारीमा रोप्न मिल्ने आँकलन गरी त्यही परिमाणमा कालीमार्सी धान केलाएर पुष्ट धानलाई भाँगो वा अल्लाबाट बनेको बोरोमा हालेर नजिकैको नदी वा खोलामा भिजाउने परम्परा रहेको आचार्यले बताउनुभयो ।

बारुवाँमा भिजाइएको धानलाई चार दिनपछि सोरुवाँ (चैत १६) गतेका दिन पानीबाट उतारेर घरमा ल्याउँछन् । भिजाइएको धानलाई घरको चुल्होसँग जोडिएको मैडो (समथर ठाउँ)मा राख्छन् । सल्लाको झुप्रा वा भोजपत्रले त्यसलाई ढाकेर न्यानो बनाउँछन् । त्यही दिनमा भिजाइएको धानको चिउरा कुट्छन् र पोइलीमा गएकी छोरी बहिनीहरुलाई कोशेलीका रुपमा पठाउने गर्दछन् ।

विशेषतः बारुवाँ पर्व, चन्दननाथ बाबा र लक्षालकृति पैकलोबीच अन्तरसम्बन्ध रहेको जानकार आचार्यले बताउनुभयो । “प्रदेश सरकारले बारुवाँलाई केन्द्रित गरी जुम्लामा सार्वजनिक विदा दिएर बारुवाँ संस्कृतिको ऐतिहासिक बिरासत जोगाएको छ,” उहाँले भन्नुभयो, “बारुवाँले मार्सी धानको शुभारम्भ, यसको खोज र उत्पादनको इतिहासलाई पल्टाउँछ ।” उहाँका अनुसार साके सम्वत् १५१५ मा विद्धान हरिदास आचार्यले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको ब्याख्या गरिएको छ ।

पन्ध्रौँ शताब्दीतिर चन्दननाथ बाबाले आफ्नो अध्ययन, खोज तथा अनुसन्धान कालीमार्सी धान पत्ता लगाएको पाईन्छ । किवदन्ती अनुसार तातोपानी गाउँपालिकामा जन्मेको लक्षालकृति पैकलो (शूरबीर)ले तातोपानीकै लाक्षु जिउलोको बिचमा अवस्थित गुरु फोक्टो (गह्रो)बाट कालीमार्सी धानखेती सुरुवात गरेको इतिहासमा उल्लेख भएको उहाँको भनाई छ ।

को हुन् लक्षालकृति पैकेलो ?
किंवदन्ती अनुसार लक्षालकृति पैकेलो चन्दननाथ बाबाको आज्ञाकारी चेलो थिए । यद्यपि तातोपानी गोप्थडा गाउँनिवासी सन्तानविहीन बुँदे बुढा वनमा निगाला लिन जाँदा रोइरहेका बालक भेटाएपछि घरमा ल्याएर धर्म छोरो बनाएका थिए । उनले दानुवा दह नजिकको दानसाँघु भिट्टो (डाँडो), हालको जुम्ला सदरमुकामको यावा दहसँग जोडिएको खलाचौर भिट्टो र लामी रहसँग जोडिएको बाँजाराउला भिट्टो काटेर जुम्लामा मानव बस्ती बसाल्नुका साथै धानखेती शुरु गरेका थिए भन्ने भनाइ छ ।

इतिहासकारहरुलाई उदृत गर्दै आचार्यले लक्षालकृति एक असाधारण, शक्तिशाली, पराक्रमी एवं परिश्रमी व्यक्ति भएको र उनले गरेको मार्सी धान खेतीपछि साविकका कर्णालीका अन्य जिल्लामा पनि फैलिएको बताउनुभयो । लक्षालकृति पैकलोले धानखेती सुरु गरेको गुरु फोक्टो रहेको जिउलोको नाम लाक्षु रहेकाले जुम्लाका चौधबीस, असी, सिञ्जा दरा (भेक) बाहेक पाँच सय दरामा कालीमार्सी धान उब्जनी गर्न थालिएको उहाँको भनाइ थियो ।

तातोपानी गाउँपालिकाका पूर्वअध्यक्ष नवराज न्यौपानेले सामाजिकसहित सांस्कृतिक बिरासत बोकेको बारुवाँ (चैत १२) ले कर्णालीको आत्मनिर्भरतालाई समेत जोड दिँदै आएको बताउनुभयो । आत्मनिर्भर एवम् स्वाभिमानी जीवन जीउन, मेहनत, परिश्रम गरेर खाने संस्कारलाई बढावा दिनुका साथै बेला चुकाउनेले अन्तमा गएर चुकचुकाउने (पश्चाताप) गर्ने सिवाय केही गर्न सक्दैन भन्ने अर्थपूर्ण सन्देश पनि नागरिकमा प्रवाह गर्दै आएको उहाँले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो खेती प्रणाली र पर्यावरण बचाउन हामीले मान्दै आएका संस्कृतिले ठुलो सहयोग पुर्‍याउँदै आएका छन् । यद्यपि, आधुनिकताको तीव्र विकासले मौलिक संस्कृतिहरु लोप मात्र होइन, हामी नागरिकमा परनिर्भरता बढ्दै गएको छ ।” ब्युटाकलरको प्रयोगपछि त्यसको असर सहन नसकेको कालीमार्सी पछिल्लो समयमा लोपोन्मुख अवस्थामा पुगेकोले नागरिकमा चिन्ता बढेको उहाँले बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान केन्द्रले पुरानो र नयाँ प्रविधिको संयोजनबाट कालीमार्सीको साख बचाउनुपर्ने र सबै तहका सरकारहरुको संलग्नतामा यसको संरक्षण, सम्बद्र्धन र प्रवर्द्धन हुनुपर्ने पूर्वअध्यक्ष न्यौपानेले सुझाउनुभयो । उहाँका अनुसार कालीमार्सीको संरक्षणसँगै यहाँका रैथानेबालीहरु कोदो, सिमी, फापर, चिनो, कागुनो, मार्से र उवाको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्न सक्छ ।

बारुवाँ, सोरुवाँ, बिसुवाँ र सामाजिक जीवन
बारुवाँ र सामाजिक जीवनको आफ्नै अन्तरसम्बन्ध छ । बारुवा पर्व मात्र नभइ कर्णालीको समग्र खेती प्रणाली, यहाँका मान्ठ (नागरिक)हरुको दिनचर्यालाई यथार्थरुपमा चित्रण गर्ने सामाजिक एवम् मौलिक महत्वको दिन हो । यसको सामाजिक तथा साँस्कृतिक महत्त्वले जुम्लाईतरको इतिहास र वर्तमान अवस्थाको तुलनात्मक ढङ्गबाट अध्ययन एवम् अनुसन्धान गर्न मुखरित गर्दछ । बारुवाँले जुम्ली घर आउने कुरासँग मात्र सम्बन्ध राख्दैन । उनीहरुको चालचलन, भेषभूषा, रितिरिवाज, संस्कार, जीवनशैली र उतिबेलादेखि आजसम्मको कर्णालीको वास्तविकता सरल तवरबाट कोट्याउन उत्प्रेरित गर्दछ ।

जुम्लीको छ महिनाको कहालीलाग्दो कालापहाड यात्रा, त्यो अवधिमा भोगेका तीता क्षणहरु, परदेशीको पर्खाइमा बस्ने परिवार, घर फिर्तिपछिको मिलन, खुसी र रोदनको निर्धारण पनि यही बारुवाँले गर्दथ्यो । त्यो परिवेश आजसम्म पनि कायम छ । फरक यतिमात्र हो, अहिले चैत १२ गतेको दिन भेट्न जुम्लाका मान्ठहरु गाडीमा आउँछन्, उतिबेला महिनौ दिनको पैदल यात्रापछि चैत ११ गतेसम्म घर पुग्ने गर्दथे ।

डेढ दशक अघिसम्म साविक कर्णाली पैदल यात्राकै भरमा जुम्ला पुग्थ्यो । आज करिब घरसम्मै मोटर पुग्छ । तर, उतिबेला चैतको १२ गते कसैको घरमा निकै खुसीयाली हुन्थ्यो भने कसैको घरमा रुवाबासी । कालापहाड गएको छ महिनापछि परदेशी घर नफर्कंदा एकै छिमेकका परिवारमा कसैले श्रीमान, कसैले छोरा त कसैले बाउ, दाइभाइ, काका, भान्जा, देवर गुमाएको हुन्थ्यो ।

आफ्नो सदस्य गुमाएको परिवारको कारुणिक दृश्यले छिमेकीलाई पनि स्तब्ध बनाउँथ्यो । अघिल्लो दिन मखमली चोलो, धोती (गाबुन), पटुका, चुरापोते, चुलठीलगायतले सुन्दर पहिरनमा सजिएकी महिला क्षणभरमै फेरिएको सेतो पहिरनले विरुप बन्न विवश हुन्थिन् । परदेशीको अनागमनले आशातीत परिवारको एकाएक खुसी लुटिन्थ्यो । उनीहरुको आशा सधैँका लागि सकिएर जान्थ्यो ।

यद्यपि, मौलिक एवम् विशेषतायुक्त कर्णालीको ग्रामीण संस्कार दुःखमा परेका परिवारका लागि निकै सहयोगी बन्थ्यो । छिमेकीहरुले पीडित घर परिवारलाई वर्षौंसम्म खेती किसानी, धारा पँधेरा, वस्त्र व्यवस्थापनलगायतका कुरामा सहायता गरिरहन्थे । बिडम्बना, सेतो पहिरनकी महिलाप्रति हेर्ने सामाजिक दृष्टिकोण भने निकै फरक अर्थात् कमजोर थियो । उनले हेपिएर बस्नुपर्ने बाध्यता झेलिरहनु पथ्र्यो । अपितु, अहिलेको समाज त्यो भन्दा धेरै माथि उठेको छ ।

तिला गाउँपालिका–४ जुम्ला निवासी बीरबहादुर सिंहले कालापहाडमा गएर आफ्नै सहपाठीहरुले अकालमा ज्यान गुमाएको तीतो अनुभव सुनाउनुभयो । “जुम्लाबाट खानाखर्च, लत्ताकपडा, भाँडाकुडासहित पैदल हिडेर नेपालगञ्ज पुग्न महिना दिन लाग्थ्यो,” सिंहले भन्नुभयो, “भारतमा ज्यालादारी काम गरेर छ महिनापछि बारुवाँ भेटाउनै पथ्र्यो तर साथी गुमाएर घर पुगेको दिन निकै पीडादायी हुन्थ्यो । शोकाकुल परिवारलाई कसरी सम्झाउने होला भन्ने कुराले पिरोलिनु पथ्र्यो ।”

विगतमा हुलाकीको काम परेवाले गर्दथ्यो भन्ने किंवदन्ती र बिहान काग कराउँदा के खबर लिएर आयो भनेर निधो गर्ने संस्कारलाई आज सूचना, सञ्चार र नवीनतम् प्रविधिको विकासले विस्थापित गरिदिएको छ । कुनैबेला सञ्चारको निकै प्रभावकारी र भरपर्दो माध्यम मानिने हुलाक सेवाको रुपान्तरण अपेक्षित हुन नसक्दा यो सेवा पनि आजको युगमा पानासोनिक रेडियोको अवस्था पुगेको आभास हुन्छ ।

शारीरिक स्पर्शबाहेक करिब सबै कामहरु आधुनिक प्रविधिले समाधान गरिरहेको छ । त्यतिमात्र होइन, यो सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता बोकेको हाम्रो मौलिक संस्कृति, संस्कार तथा सभ्यता संरक्षणमा ठुलो चुनौती बन्दै गएको छ । प्रकृति र मौलिकतासँग जोडिएका कुरालाई संरक्षण र जगेर्ना गर्न राज्यले त्यही प्रकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने जुम्लाका युवा नेतृ लक्ष्मीकन्या बुढाले बताउनुभयो ।

उहाँका अनुसार लोपोन्मुख अवस्थामा पुगेको काली र रातो मार्सी धान जस्ता रैथाने बालीहरु ब्लास्ट रोग (धानमा लाग्ने मरुवा रोग)को संरक्षणमा समस्या हुँदै गएको छ । यसको संरक्षण, अनुसन्धान र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । मानव जीवनसँग जोडिएको संस्कृति, परम्परा र पहिचानको जीवित दस्तावेजलाई जीवन्त राख्न तीनै तहका सरकार र समुदायबिच सहकार्य आवश्यक छ । परम्परागत ज्ञान, सीप र आधुनिक प्रविधिको संयोजनबाट यसको जगेर्ना गर्नुपर्दछ । मानवीय भावना, सामाजिक तथा साँस्कृतिक जनजीवन, परिवेश, संस्कार, मौसम, कृषि कर्म र मानव जीवन अस्तित्वसँग जोडिएको ‘बारुवाँ, सोरुवाँ र बिसुवाँ पर्व’ कर्णालीको समग्र मानव जीवनको द्योतक हो । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *