बुटवल । शुद्धोदन गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई सम्मान गरेको छ। सोमबार गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१को वार्षिक परिक्षामा उत्कृष्ट नजिता हासिल गर्ने छात्राहरुलाई सम्मान गरेको हो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यक्रम उद्घाटन गर्दै शिक्षा क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले गाउँपालिकको सम्मानले शिक्षक, विद्यार्थी र विद्यालयलाई उत्कृष्टता प्राप्त गर्न उत्प्रेरित गर्ने बताउनु भयो । गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष शान्तादेवी ज्ञवालीले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रवर्धन गर्ने हेतुले विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसला स्वरूप पुरस्कार र सम्मान प्रदान गरिएको बताउनु भयो।
कार्यक्रममा बोल्दै गाउँपालिकका वडा नं ४ का अध्यक्ष तथा प्रवक्ता केशवप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले शैक्षिक गुणस्तर बृद्धि र शिक्षामा प्रत्साहन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र सम्मानपत्र वितरण गरिएको थियो । शुद्धोदन गाउँपालिकाको यस कार्यक्रमले भविष्यमा शिक्षण–सिकाइ गतिविधिलाई थप सशक्त बनाउने ऊर्जा प्रदान गर्ने सहभागीहरुले विश्वास व्यक्त गरे ।