काठमाडौँ, १ असार । जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले नेपालको भौगोलिक विविधता, सीमित स्रोत साधन, आवश्यक जनशक्तिको कमीले मौसम पूर्वानुमान गर्न कठिन भएको बताउनुभएको छ ।
उहाँले मौसम पूर्वानुमान गर्न धेरै मेहनत गर्ने गरेको भन्दै कहिलेकाहीँ पूर्वानुमान नमिल्नुको कारण धेरै रहेको बताउनुभयो ।
उहाँले नेपालको भौगोलिक विविधताका कारण नेपालको मौसम र जलवायुमा विविधता हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जति धेरै भौगोलिक विविधता हुन्छ त्यति नै धेरै मौसम पूर्वानुमान पनि चुनौतीपूर्ण हुन्छ । विभिन्न तत्वहरुको उपस्थितिले वायुमण्डलमा भद्रगोल रुपमा रहेको हुन्छ । आज भएको नगन्य परिवर्तनले भोलि निकै ठुलो मौसममा परिवर्तन ल्याउन सक्छ ।”
उहाँले मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नेपालमा भित्र्याउन नसकेको भन्दै भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको जानकारी दिनुभयो ।
“विश्वव्यापी रुपमा प्रविधिले फड्को मार्दै गर्दा मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि हामीले भित्र्याउन सकेका छैनौँ । नियमितरुपमा मौसम पूर्वानुमान गर्न आवश्यक जनशक्तिका साथै, भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको छ,” उहाँले भन्नुभयो ।
मौसम पूर्वानुमान नमिल्नुको अर्को कारण तथ्यांकको सीमितता रहेको भन्दै उहाँले नेपालमा उच्च पहाडी तथा हिमाली भू–भागहरुको नियमितरुपमा प्रर्याप्तरुपमा तथ्यांक संकलन गर्न नसकिँदा मौसम पूर्वानुमान थप जटिल बनेको बताउनुभयो ।
उहाँले हाल नेपाललगायत विश्वव्यापीरुपमा गणितीय मौसम पूर्वानुमान प्रणालीको प्रयोग गरी मौसम पूर्वानुमान गर्ने गरेको र तर नेपालको भुगोल सुहाउँदो एवम् आवश्यक अध्ययन अनुसन्धान नहुँदा साथै आवश्यक तथ्यांक प्रयोग गर्न नसक्दा नेपालको मौसम पूर्वानुमान जटिल बनेको बताउनुभयो ।
वरिष्ठ मौसमविद् कँडेलले चुनौतीको बावजुत पनि मौसम पूर्वानुमानमा विश्वासनीय र भरपर्दो बनाउँदै लगिरहेका जानकारी गराउनुभयो ।