मकालु हिमालमा फहराइयो ट्राफिकको सन्देशमूलक ब्यानर

मकालु हिमालमा फहराइयो ट्राफिकको सन्देशमूलक ब्यानर

काठमाडौँ, २३ जेठ । विश्वको पाँचौँ सर्वोच्च शिखर मकालु हिमालमा ‘ट्राफिक नियमको पालना गरौँ, दुर्घटनाबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारा अंकित सन्देशमूलक ब्यानर फहराइएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका(९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालनासम्बन्धी सन्देश विश्व सामु पुर्‍याएकोमा बधाई दिँदै यस्ता प्रयासले सडक सुरक्षाको महत्त्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने बताउनुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङलगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गरेका थिए ।

उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जीवनी र हिमाल आरोहणसम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *