

दाङ, ११ असार । परम्परागत शिक्षण पद्धतिलाई परिमार्जन गर्दै प्रविधि र नवीन सोचका साथ नेपाली शिक्षा क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले आगामी शनिबार दाङमा एक विशेष विमर्श कार्यक्रम आयोजना हुने भएको छ । लिडिंग द सिफ्ट रिडिभाइनिंग पेडालोजी, एआई र स्कूल कल्चर (परिवर्तनको नेतृत्वः शिक्षण विधि, आर्टिफिसियल इन्टेलिजेन्स र विद्यालय संस्कृतिको पुनरपरिभाषा) शीर्षकमा उक्त विचार–गोष्ठी सञ्चालन हुन लागेको आयोजकले स्मार्ट आइटी सोलुसनले जनाएको छ ।
भविष्यको शिक्षा प्रणाली कस्तो हुनुपर्छ र यसमा प्रविधिको भूमिका के रहन्छ भन्ने विषयमा केन्द्रित रहेर आयोजना हुन लागेको यो कार्यक्रम विशेष गरी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूका लागि लक्षित गरिएको छ ।
शनिबार विहान ११ बजे चैतन्य पाठशाला, राप्ती उपत्यका, दाङमा आयोजना हुन लागेको कार्यक्रममा शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका तथा अन्तर्राष्ट्रिय शिक्षण पद्धति बुझेका तीन जना ख्यातिप्राप्त व्यक्तित्वहरूले मुख्य वक्ताका रूपमा आफ्नो प्रस्तुति राख्नुहुने स्मार्ट आईटीका व्यवस्थापकिय निर्देशक लेखनाथ पन्थले जानकारी दिनुभयो ।
मुख्यवक्ताहरुको रुपमा अमेरिकाको आउबर्न विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका र बुटवल पब्लिक स्कुलका प्राज्ञिक सल्लाहकार तथा लुम्बिनी वल्र्ड स्कुल, रूपन्देहीका संस्थापक प्राज्ञिक निर्देशक डा. मीन प्रसाद खनाल हुनुहुन्छ ।
यस्तै,अमेरिकाको लुइसियाना राज्य विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यालय एवं विश्वविद्यालयहरूमा प्राध्यापन गरेको लामो अनुभव समेत संगालनु भएका र चैतन्य पाठशालाका प्रबन्ध निर्देशक समेत रहनुहुने अन्तर्राष्ट्रिय शिक्षाविद् तथा रूपान्तरणकारी शिक्षाका अभियन्ता डा. जीवराज आचार्य पनि मुख्यवक्ताको रुपमा रहुनभएको छ । यस्तै, रूपन्देहीस्थित दिप एकेडेमीका प्रधानाध्यापक तथा लुम्बिनी वल्र्ड स्कुलका संस्थापक प्रधानाध्यापक तथा शैक्षिक अभियन्ता विष्णु प्रसाद ढकाल अर्का मुख्यवक्ताको रुपमा रहनुभएको छ ।
विचार–गोष्ठीमा समसामयिक तथा दूरगामी महत्त्वका विषयहरूमा गम्भीर छलफल हुने आयोजकले जनाएका छन् । शिक्षा क्षेत्रमा एआईको बढ्दो भूमिका र प्रयोग, भविष्यका चुनौतीहरू सामना गर्न सक्ने शिक्षण र सिकाइ अभ्यासहरू, विद्यालयमा सकारात्मक, रचनात्मक र रूपान्तरणकारी संस्कृतिको निर्माण, शैक्षिक उत्कृष्टता हासिल गर्नका लागि आवश्यक नेतृत्वदायी रणनीतिहरू मुख्य विषयहरु रहेका छन् ।
स्मार्ट आईटी सोलुसन र चैतन्य पाठशालाको सहकार्यमा हुन लागेको यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइन फारम मार्फत आफ्नो दर्ता गराउन सक्नेछन् । यसका लागि स्मार्ट आईटी सोलुसनको अफिसियल पेजमा गएर विस्तृत बुझ्न सकिनेछ । नयाँ सोच र प्रविधिलाई आत्मसाथ गर्दै आफ्ना शैक्षिक संस्थाहरूलाई समयसापेक्ष बनाउन चाहने सम्पूर्ण शिक्षा प्रेमीहरूका लागि यो कार्यक्रम एउटा सुनौलो अवसर बन्ने अपेक्षा गरिएको छ ।