रास्वपाको दस्तावेजमाथि किरातीको टिप्पणी : गम्भीर बहस नगरी ताली बजाएर पारित गरियो

पार्वती भण्डारी काठमाडौँ, ११ असार । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली बजाएर पारित गरिएको दाबी गर्नुभएको छ । वरिष्ठ नेता किरातीले महाधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको सत्ता सञ्चालक पार्टीको राष्ट्रिय अधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नुपर्छ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेनमा वाचन भएको दस्तावेजमाथि बहस नै नगरी ताली बजाएर पास गरियो । यो नीति निर्माणको निम्ति भन्दा पनि नेतृत्व निर्माणको निम्ति मात्र गएको जस्तो देखिन्छ ।” उहाँका अनुसार नीति निर्माणभन्दा नेतृत्व निर्माणमा बढी केन्द्रित भएको जस्तो देखिएको छ । उहाँले चार वर्षअघि रास्वपाले अघि सारेको ‘संवैधानिक समाजवाद’ अहिले दस्तावेजमा समेटिएको भए पनि त्यसलाई ‘सामाजिक लोकतन्त्र’ का रूपमा पुनः परिभाषित गर्नु आवश्यक नरहेको बताउनुभयो । “चार वर्ष अगाडि रास्वपाले ‘संवैधानिक समाजवाद’ भनेर अगाडि बढाएको पार्टी मुखको भरमा मात्रै सबैले...

रास्वपाको दस्तावेजमाथि किरातीको टिप्पणी : गम्भीर बहस नगरी ताली बजाएर पारित गरियो
पार्वती भण्डारी

काठमाडौँ, ११ असार । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली बजाएर पारित गरिएको दाबी गर्नुभएको छ ।

वरिष्ठ नेता किरातीले महाधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको सत्ता सञ्चालक पार्टीको राष्ट्रिय अधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नुपर्छ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेनमा वाचन भएको दस्तावेजमाथि बहस नै नगरी ताली बजाएर पास गरियो । यो नीति निर्माणको निम्ति भन्दा पनि नेतृत्व निर्माणको निम्ति मात्र गएको जस्तो देखिन्छ ।”

उहाँका अनुसार नीति निर्माणभन्दा नेतृत्व निर्माणमा बढी केन्द्रित भएको जस्तो देखिएको छ । उहाँले चार वर्षअघि रास्वपाले अघि सारेको ‘संवैधानिक समाजवाद’ अहिले दस्तावेजमा समेटिएको भए पनि त्यसलाई ‘सामाजिक लोकतन्त्र’ का रूपमा पुनः परिभाषित गर्नु आवश्यक नरहेको बताउनुभयो ।

“चार वर्ष अगाडि रास्वपाले ‘संवैधानिक समाजवाद’ भनेर अगाडि बढाएको पार्टी मुखको भरमा मात्रै सबैले छ भन्थे, आज कागजमा त आइपुग्यो त्यो राम्रो कुरा हो,” उहाँले भन्नुभयो, “संवैधानिक समाजवादलाई ‘सामाजिक लोकतन्त्र’को रूपमा आज परिभाषित गरेर नेपालकै संविधानको नेपालकै संविधानको बाटोलाई उहाँहरूले लालीपाउडर मात्रै घसिदिनुभयो यो अचम्मको कुरा भयो ।”

नेपालको संविधानमै सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको भएको स्पष्ट पार्दै उनले सामाजिक लोकतन्त्र भनेर नयाँ नाम दिएर प्रस्तुत गर्नु संविधानको मूल भावनालाई ‘डेन्टिङ–पेन्टिङ’ गर्नुजस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले संविधानको प्रस्तावनामाथि समेत प्रहार गरेको होकी भन्ने धारणा राख्नुभयो ।

प्रदेश सभा खारेजीको प्रस्तावप्रति असहमति जनाउँदै उहाँले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक सामाजिक संरचनाले संघीय व्यवस्थालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपालका विभिन्न समुदाय, संस्कृति र पहिचानलाई समेटेर राष्ट्रिय एकता कायम राख्न संघीयता महत्त्वपूर्ण भएको उहाँको बताउनुभयो ।

“खर्च कटौतीको नाममा प्रदेशसभा नै खारेज गर्ने रे । नेपालको सामाजिक संरचना अनुसार यसलाई उल्टाउनु पर्छ । किनभने नेपालको बहुजाति बहुसांस्कृतिक भएको समाजमा बहुमनोविज्ञान हुने भइहाल्यो,” उहाँले भन्नुभयो,“प्रत्येक सय पाइला हिँड्ने बित्तिकै नयाँ संस्कृति नयाँ समुदाय भेटिन्छ । उनीहरू आपसमा मिलेर बसेको छन् । त्यो मिलेर बसेको सम्झौता गरेर बसेको समाजलाई खलबलाउनु हुँदैन ।”

उहाँले आन्दोलनका बेला जनताले राजनीतिक दलहरूलाई साथ दिने तर सत्तामा पुगेपछि उनीहरूप्रति असन्तुष्टि बढ्ने प्रवृत्ति देखिएको बताउनुभयो । “समाजको आधारमा र मनोविज्ञानको आधारमा नेपालको राजनीतिशास्त्रले बाटो निर्माण गर्न सकेको छैन । आन्दोलनसम्म जाँदा जनताले साथ दिन्छन्, तर सत्तामा पुगेपछि जनता प्रतिपक्षजस्तै हुन्छन्,” उहाँले भन्नुभयो ।

उहाँले प्रत्येक क्षेत्रका समुदायको आवश्यकता फरक हुने भएकाले स्थानीय र प्रदेश तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो । “त्यहाँको दलितलाई के चाहिन्छ, भुजेललाई के चाहिन्छ, राउटे वा चेपाङ समुदायलाई के आवश्यक छ भन्ने कुरा त्यहीँका जनप्रतिनिधिले राम्रोसँग बुझ्छन्,” उहाँले भन्नुभयो ।

किरातीले केन्द्रबाट सबै कुरा नियन्त्रण गर्ने प्रवृत्तिले नेपाली समाजको वास्तविकता नबुझेको सङ्केत गर्ने बताउनुभयो । प्रदेश र स्थानीय तहको अधिकार कटौती गर्ने सोचले संघीयताको मर्ममाथि आघात पुग्ने उनको बताउनुभयो ।

उहाँले सिंहदरबार भित्रबाट हेर्ने चश्माले देश नदेखिने बताउनुभयो । उहाँले खर्च कटौतीका नाममा प्रदेश संरचना हटाउने लागेको बताउनुभयो । उहाँका अनुसार समस्या सङ्घीयतामा नभइ भ्रष्टाचार नियन्त्रणमा छ । महालेखा परीक्षकका प्रतिनिधिदेखि प्रशासनिक संयन्त्रसम्म फैलिएको भ्रष्टाचार हजाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँका अनुसार भ्रष्टाचारको साङ्लो पहिला काटिदिनु पर्छ । प्रदेश र तलसम्म काटिदिनु पर्छ । महालेखा परीक्षकको प्रतिनिधिले गएर त्यहाँ पैसा उठाए पछि तल, तलको मान्छेले फेरी तलबाट उठाउनु पर्छ । यो भ्रष्टाचारको चेन हो ।

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहनुभएका किरातीले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाट पठाउने व्यवस्था पनि भ्रष्टाचारको एउटा स्रोत भएको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई थप स्वायत्त बनाउँदै प्रशासनिक अधिकारसमेत विकेन्द्रीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले संविधानले नचिनेका कतिपय प्रशासनिक संरचनालाई कायम राखेर संघीयतामाथि दोष थोपर्ने काम भइरहेको आरोप लगाउनुभयो । जिल्ला तहमा रहेका अनावश्यक प्रशासनिक संरचना, सवारी साधन तथा कर्मचारी व्यवस्थापनमा सुधार गरेर खर्च कटौती गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

सुदन किरातीले वर्तमान अर्थमन्त्रीले सार्वजनिक रूपमा सरकारी खर्च घटेको तथ्य स्वीकार गरिसकेको उल्लेख गर्दै सङ्घीयताको विरोध तथ्यमा भन्दा पूर्वाग्रही सोचमा आधारित रहेको बताउनुभयो ।

अर्थमन्त्रीले समेत सार्वजनिक रूपमा सङ्घीयताका कारण खर्च नबढेको स्वीकार गरिसकेको उल्लेख गर्दै उहाँले सङ्घीयता विरोधी बहस वैचारिक पूर्वाग्रही सोचमा आधारित रहेको बताउनुभयो ।

किरातीले सङ्घीयता नेपाली समाज, जनताको अधिकार र राष्ट्रिय एकताका लागि आवश्यक व्यवस्था भएको बताउनुभयो । रास्वपाको महाधिवेशनबाट आएको वैचारिक दस्तावेजबारे टिप्पणी गर्दै उहाँले त्यसले स्पष्ट राजनीतिक मार्गदर्शन दिन नसकेको बताउनुभयो । –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *