
काठमाडौँ, २२ जेठ । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किनुभएको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने गरे पनि आफ्नो भ्रमण त्यसभन्दा फरक रहेको बताउनुभयो ।
उहाँले मित्रराष्ट्रका प्रतिनिधिहरूसँग भएका सबै बैठकमा नेपालका कार्यवाहक राजदूतको उपस्थिति रहेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका छलफलहरू पूर्ण रूपमा पारदर्शी रहेको दाबी गर्नुभयो ।
लामिछानेले नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको जानकारी दिँदै वार्ताका विभिन्न चरणमा प्रवेश गरिसकेको बताउनुभयो । उहाँले विशेषगरी परम्परागत राजनीतिक संवादलाई अर्थराजनीतितर्फ केन्द्रित गर्दै विकास, लगानी, आर्थिक सहकार्य र साझा समृद्धिका विषयमा जोड दिएर छलफल गरिएको बताउनुभयो ।
उहाँले विकासको नीतिलाई आधार बनाएर दुवै देशबिच सहकार्यका सम्भावनाबारे सकारात्मक संवाद भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने के भयो कसो भयो नहुने । त्यस्तो परम्परा नभइकन । हामीले गरेको कुराकानीमा मित्रराष्ट्रका प्रतिनिधि पनि, मेरा सबै बैठकमा कार्यवहाक राजदूत नै उपस्थित हुनुहुन्थ्यो । पारदर्शी छलफल भएको छ । छलफलका विभिन्न चरणहरुमा हामी प्रवेश गरेका छौँ । विशेषगरी राजनीतिलाई अलिकति अर्थराजनीतिमा परिणत गर्ने हामीले अवलम्बन गरेको हौँ । विकासको नीतिलाई आधार मानेर हामीले छलफल गर्यौँ ।”
त्यस्तै, नेपाल–भारत सीमा विवादबारे उहाँले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै हल्ला गरेर र ढोल बजाएर नुहने प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यो हल्ला गरेर, ढोल बजाएर हुँदैन । गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ ।”