
काठमाडौँ, २६ वैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताउनुभएको छ ।
विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गर्नुभयो । उहाँले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “आज देशमा प्रतिपक्ष नभएको अवस्था छ । दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा छन् । दलहरू टुक्राटुक्रा हुँदै गएका छन् र अब उठ्न नसक्ने अवस्थामा पुगेका छन् । हामी सदनमा नभएपनि सडकमा प्रतिपक्षको भूमिका निभाइरहेका छौँ । सदनबाट उठ्नुपर्ने आवाज सडकबाट उठाइरहेका छौँ ।”
प्रसाईंले नयाँ सरकार गठन भएपछि सुरूका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताउनुभयो ।
यसैबिच उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै गरिबका घरमा डोजर चलाइएको विषयमा आलोचना गर्नुभयो ।
उहाँले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोग गरेर जनतालाई प्रभावित पारिएको आरोप लगाउँदै भन्नुभयो, “विदेशमा रहेका दाजुभाइहरूले घरमा फोन गरेर घन्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन, कुन घर फर्किन्छस् ? घन्टीले घर भत्काइदियो ।”
प्रसाईंले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिनुभयो ।