
काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घन्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घन्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँलाई सो आदेश गरेको हो ।
व्यवसायी गोल्छाका तर्फबाट उहाँकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो ।
आदेशमा रिट निवेदनको एक/एकप्रति नक्कल समेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन भनिएको छ ।