काङ्ग्रेसको आन्तरिक मतभेद्‌लाई म आफैँ पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको छु : निधि [भिडिओ]

जनकपुर, १३ फागुन । नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले काङ्ग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताउनुभएको छ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनुभएका नेता निधिले काङ्ग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताउनुभयो । “अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनुभयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ । नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ,” निधिले अगाडि भन्नुभयो, “हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगन कुमार थापाको युवा ऊर्जा देखिएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यसले राम्रो प्रभाव परेको छ ।” उहाँले अहिले नेपाली काङ्ग्रेसमा देशभर एकता रहेको पनि दाबी गर्नुभयो । “एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ । काङ्ग्रेसको उम्मेदवारहरूको जसरी चयन भएको छ र देशको राजनीतिक अवस्था जसरी जनताले बुझेका छन् । यी सबैका आधारमा म के...

काङ्ग्रेसको आन्तरिक मतभेद्‌लाई म आफैँ पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको छु : निधि [भिडिओ]

जनकपुर, १३ फागुन । नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले काङ्ग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताउनुभएको छ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनुभएका नेता निधिले काङ्ग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताउनुभयो ।

“अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनुभयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ । नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ,” निधिले अगाडि भन्नुभयो, “हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगन कुमार थापाको युवा ऊर्जा देखिएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यसले राम्रो प्रभाव परेको छ ।”

उहाँले अहिले नेपाली काङ्ग्रेसमा देशभर एकता रहेको पनि दाबी गर्नुभयो । “एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ । काङ्ग्रेसको उम्मेदवारहरूको जसरी चयन भएको छ र देशको राजनीतिक अवस्था जसरी जनताले बुझेका छन् । यी सबैका आधारमा म के भन्न सक्छु भने काङ्ग्रेसले बहुमत प्राप्त गर्छ । र बहुमतबाट नेपाली कांग्रेसको सरकार बन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।”

उहाँले आन्तरिक मतभेदहरूलाई आफैँले पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको बताउनुभयो । “आन्तरिक मतभेदलाई म आफैँ पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको छु, जसमा सफलता पनि पाएको छु,” निधिले थप्नुभयो ।

निधिले अहिले देशमा निर्वाचित सरकार नहुँदा डेमोक्रेसी फ्याक्चर्ड भएको र पोलिटिकल सिस्टम प्रेक्जर्ड भएको बताउनुभयो । “अहिले देशमा निर्वाचित सरकार छैन । निर्वाचित संसद छैन । डेमोक्रेसी फ्याक्चर्ड भएको छ । पोलिटिकल सिस्टम प्रेक्जर्ड भएको छ । संविधान ग्रिड भएको छ । अहिले नेपाली काङ्ग्रेसले नै यसको सही उपचार दिन सक्छ भन्ने भावना छ । यो सकारात्मक आधार हो । जसको कारण नेपाली काङ्ग्रेसलाई जिताउनु पर्छ भन्ने जनताको मत छ।”

नेता निधिले प्रतिनिधि सभाको निर्वाचनपछि बन्ने काङ्ग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्य र सुशासनका सवालमा काम गर्ने पनि बताउनुभयो ।

“अब हामीले आधुनिक प्रणालीलाई विकास गर्नुपर्छ । डिजिटल गभर्नेन्स सिस्टम अर्थात् ई–गभर्नेन्स सिस्टमलाई अघि बढाउनु पर्छ । यो सिस्टमले भ्रष्टाचारको न्यूनीकरण, पारदर्शिता र सुशासनको कुरा सम्बोधन हुन्छ । यो व्यवस्थालाई तीन वटै तह, स्थानीय, प्रादेशिक र संघीय तहमा लैजानु पर्छ,” उहाँले भन्नुभयो ।

उहाँले सो व्यवस्थालाई सरकारी मात्र नभएर गैरसरकारी क्षेत्रमा पनि लागु गराइनु पर्ने बताउनुभयो । “यो सिस्टमले पाँच दिन लाग्ने काम पाँच दिनमा नै हुन्छ । पाँच घन्टामा हुने काम पाँच घन्टामा नै हुन्छ । लाइसेन्सका लागि फाराम भर्नु पर्ने अहिले जुन प्राविधिक जटिलता छ, यो हुँदैन । नागरिकता पाउन एक घन्टामा हुन्छ भने एक घन्टामा नै पाइसक्नु पर्यो । लाइसेन्समा त्यस्तै हुनु पर्यो । त्यस्तो बाटोमा ई–गभर्नेन्स सिस्टमबाट काम गर्न सकिन्छ। त्यसमा कांग्रेस अब अघि बढ्नु पर्छ भन्ने मेरो धारणा हो ।”

उहाँले काङ्ग्रेसले नै अहिलेसम्म जनताको अधिकारका लागि र विकासका लागि काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक मानिसलाई दुई ओटा कुरा चाहिन्छ एउटा अधिकार अर्को विकास, यहाँको दुईवटै क्षेत्रमा बिपी कोइरालाको समयदेखि अहिलेसम्म त्यो काङ्ग्रेसले नै गरेको छ। त्यसैले जसले काम गरेको छ, भोलिको दिनमा त्यसैले काम गर्न सक्छ भन्ने भरोसा राख्नु पर्दछ।”

निधिले नयाँ ड्राइभरले गाडीलाई जतिबेला पनि दुर्घटना गराउन सक्ने भन्दै नेपाली काङ्ग्रेसका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गर्नुभयो ।

“जसले काम गरेर देखाएकै छैन, जसको कामको कुनै अनुभव नै छैन, त्यसले नयाँ काम गर्छु भन्दैमा भरोसा गर्ने ठाउँ छैन । नयाँ ड्राइभरले त जतिबेला पनि दुर्घटना गराइदिन सक्छ । लिकभन्दा बाहिर पुर्‍याइदिन सक्छ । त्यसकारण नेपाली काङ्ग्रेसको रूख छापमा नै मत दिनुस् भनेर म मेरो क्षेत्रका र देशभरका मतदातालाई आग्रह गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।

उहाँले रूख छापलाई मत दिएर नेपाली काङ्ग्रेसलाई विजयी गराए भोलिको नेपाललाई सुन्दर र शान्त नेपाल बनाउन सहयोग पुग्ने पनि बताउनुभयो ।

“नेपाललाई सुन्दर बनाउने, शान्त नेपाल बनाउने, बदला नलिने, अपराध नियन्त्रण गर्ने, सुशासन, समृद्धि र समावेशीतासहितको संघीय लोकतान्त्रिक प्रणालीलाई कार्यान्वयन गर्न सक्ने अवस्थाका लागि काङ्ग्रेसको जित आवश्यक छ । नेपाली काङ्ग्रेसले अरु दलहरूसँग निर्भर भएर सरकार बनायो भने उसले डेलिभरि नै दिन सक्दैन । त्यसकारण काङ्ग्रेसको एकल बहुमत पुर्‍याउने गरेर मतदान गर्नुस भन्ने मेरो आग्रह हो,” निधिले थप्नुभयो ।

निधिले आफू धनुषा ३ बाट उम्मेदवार हुँदै गर्दा राष्ट्रिय राजनीतिका मुख्य एजेन्डादेखि स्थानीय मुद्दालाई समेटेर आफ्नो चुनावी एजेन्डा बनाउनुभएको छ ।

उहाँले राष्ट्रिय राजनीतिको एजेन्डामा संविधानलाई लिकमा ल्याउने, क्षतिग्रस्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल कार्यान्वयन गर्ने विषय मूल भएको बताउनुभयो । त्यसका लागि निर्वाचित सरकार आवश्यक रहेको उहाँको भनाइ छ ।

निधिले नेपाली काङ्ग्रेसको नेतृत्वमा बहुमत भएर सरकार आयो भने देशलाई सम्हाल्न सक्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका लागि पनि योजना बनाएको बारे सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “मैले भनेको छु, ग्रामीण क्षेत्रमा तीन ओटा प्रसुती अस्पताल बनाउँछु । ग्रामीण क्षेत्रमा बालबालिकाको उपचार गर्नका लागि तीन ओटा बाल अस्पताल बनाउँछु । युवाहरूको रोजगारीका लागि लगानीकर्ताहरूलाई आमन्त्रित गरेर सुरक्षित रुपमा उद्योग र व्यवसायमा लगानी गरी युवाहरूलाई रोजगारी सिर्जना गर्ने वातावरण बनाउँछु। यो मेरो क्षेत्रका लागि अबको प्राथमिकता हो ।”

नेपालमा हालसम्म मल कारखाना नभएको र त्यसको असर कृषि क्षेत्रले भोग्दै आएको भन्दै उहाँले मल कारखाना खोल्नका लागि पनि आफूले योजना बनाएको निधिले सुनाउनुभयो ।

“नेपालमा अहिलेसम्म एउटा मल कारखाना खुलेको छैन । हाम्रो भू–भाग भनेको कृषिको भू–भाग हो । यहाँ सबैभन्दा ठुलो समस्या मलको हाहाकार हो । मैले आफ्नै जिल्लामा लगानीकर्ताहरूलाई ल्याएर एउटा मल कारखाना खोल्नेतर्फ पनि सरसल्लाह गरिरहेको छु,” उहाँले भन्नुभयो ।

उहाँले जनकपुर धार्मिक पर्यटनको विकासका लागि महत्त्वपूर्ण स्थान रहेको बताउँदै रामजानकी स्टेडियमलाई जतिसक्दो छिटो निर्माण गर्न लगाएर यहाँ स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने तर्फ पनि काम गर्नु पर्ने स्पष्ट पार्नुभयो ।

निधिले आफू प्रतिनिधि सभाका लागि धनुषा ३ बाट उम्मेदवार बनेको बताउँदै आफ्ना प्रसस्त जित्ने आधारहरू रहेको सुनाउनुभयो ।

“म केटाकेटीदेखि राजनीतिमा लागेको र जेलनेल भोगेको मान्छे हुँ । राजनीतिक जीवनका बारेमा, जनताका अधिकारका बारेमा, संविधान निर्माण, संघीयता, गणतन्त्रका बारेमा जुन मेरो प्रतिबद्धता छ र सक्रियता छ, यसलाई यहाँका जनताले नोटिसमा लिएका छन् । मायाका साथ मलाई उपयुक्त पात्र हुन् भनेर जनताले माया गरेका छन्, आशीर्वाद दिएका छन् । यो मेरो अहिले निर्वाचित हुने बलियो आधार हो,” उहाँले सुनाउँदै भन्नुभयो ।

आफू विभिन्न कालखण्डमा सरकारको नेतृत्वमा रहँदा जनकपुरका लागि भौतिक पूर्वाधारको विकास र शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरेको पनि बताउनुभयो ।

“मैले आफू नेतृत्वमा रहँदा मधेस प्रदेशको राजधानी जनकपुरमा बनाउन लगाएको छु । यसमा मेरो योगदान छ। राजर्षी जनक विश्वविद्यालय जनकपुरमा स्थापना गराएको छु । यसमा पनि मेरै निर्णायक योगदान छ । ढल्केबर–जनकपुरको ६ लेनको बाटो म आफैँ भौतिक पुर्वाधार मन्त्री हुँदा निर्माण गराएको हुँ, यो यहाँका जनतालाई थाहा छ,” उहाँले भन्नुभयो, “जिल्लाभर नै गाउँगाउँलाई जोड्ने बाटोघाटो, पुलपुलेसाहरू बनाउने काम मैले गराएको छु । यहाँको रेल सेवा होस, हवाई सेवा होस्, अयोध्या–जनकपुरको कनेक्टिभिटीको कुराहरू होस् । यस्ता विषयहरू जो जनताको सार्वजनिक जीवनसँग र भविष्यको उन्नतिसँग सरोकार राख्छन्, यसमा मैले गरेका कामको चर्चा र तुलना सबैले गर्ने गरेका छन्।” –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *