अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

कैलाली, २५ साउन । कैलालीको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् । यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन् ।

यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका–५ गोबरेलाका कृषक सनोज चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट भित्रिने माछाका कारण हामीले चाहेको मूल्यदरमा बिक्री गर्न सकिरहेको छैनौँ, यसले व्यापार व्यवसाय सञ्चालनसँगै आर्थिक व्यवस्थापनमा समस्या भएको छ ।”

यहाँ उत्पादित माछा थोकमा प्रतिकिलो २५० र फुटकरमा प्रतिकिलो ३०० रूपैयाँमा बिक्री हुने गरेको जनाउँदै चौधरीले सिमानाकाबाट भित्रिएका माछा थोकमा प्रतिकिलो २२० र फुटकरमा प्रतिकिलो २८० रूपैयाँमा बिक्री हुने गरेको बताउनुभयो । “हामीले उत्पादन गरेका माछाको दररेटभन्दा भारतबाट ल्याइएका माछा सस्तो पर्न जान्छ । सोही कारणले व्यावसायिक माछापालन गर्ने किसानद्वारा उत्पादित माछाले उचित मूल्य नपाउँदा समस्या भएको हो”, उहाँले भन्नुभयो ।

माछापालनका लागि तीन वटा पोखरी निर्माण गरेको बताउँदै चौधरीले कमन कार्प, ग्रास, रहु र पङ्गासेस जातका माछापालन गर्दै आएको जानकारी दिनुभयो ।

माछा बिक्रीका लागि समस्या नभए पनि अवैध रूपमा भित्रिने माछाका कारण बिक्री दरमा वृद्धि हुन नसकेको धनगढी उपमहानगरपालिका–२ का माछापालक नरेश शाहले गुनासो गर्नुभयो । “लामो समयदेखि हामीले व्यवसाय गर्दै आएका छौँ, तर लगानी र मिहेनतअनुसारको उचित मूल्य नपाउँदा कृषक समस्यामा परेका छौँ”, उहाँले भन्नुभयो । सिमानाकाबाट अवैध रूपमा भित्रिने माछा रोक्नका लागि नाका क्षेत्रमा कडाइ गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *