धरौटीमा रिहा भएलगत्तै अमला रोका सम्पत्ति शुद्धीकरण मुद्दामा फेरि पक्राउ

धरौटीमा रिहा भएलगत्तै अमला रोका सम्पत्ति शुद्धीकरण मुद्दामा फेरि पक्राउ

काठमाडौँ, १० असार । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई सोमबार रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो ।

सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको जानकारी दिनुभयो ।

अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झण्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।

त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । त्यसयता फरार रहेकी रोकालाई काठमाडौँको टोखाबाट यही असार ६ गते पक्राउ गरिएको थियो । अदालतमा पेस भएकी उनीविरुद्धको मुद्दामा आइतबार र सोमबार थुनछेक बहस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *