तिलोत्तमाले ल्यायो २ अर्ब ९२ करोडको बजेट

तिलोत्तमाले ल्यायो २ अर्ब ९२ करोडको बजेट

तिलोत्तमा  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वर देवी चौधरीले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत रहने अनुमान गरिएको बताउनुभयो ।

आर्थिक वर्ष २०८१/०८२ का लागि तिलोत्तमामा २ अर्ब ७६ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

उपप्रमुख चौधरीले आ.व. २०८२/०८३ का लागि तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य लिएको बताउनुभयो । उहाँले ‘समृद्ध नगर : सुखी नगरबासी’ भन्ने लक्ष्य हासिल गर्नको लागि बलियो आधार तय गर्नु बजेटको मूल उद्देश्य रहने बताउनुभयो ।

शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वागींण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने, वातावरण, विपद् व्यवस्थापन क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने बजेटका अन्य उद्देश्यहरु रहेको उहाँले बताउनुभयो ।

यस्ता छन् बजेटका प्राथमिकता

तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने उपप्रमुख चौधरीले बताउनुभयो ।

त्यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने, समतामूलक समाज र समावेशी विकासलाई अगाडि बढाउने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमले बजेटमा प्राथमिकता पाएका छन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *