काठमाडौँ, ३१ जेठ । दक्षिण अफ्रिकाले आइसीसी विश्व टेस्ट च्याम्पियनसिप जितेको छ । फाइनल खेलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप जितेको हो ।
अष्ट्रेलियाले दिएको २८२ रनको लक्ष्य पछाइरहेको दक्षिण अफ्रिकाले चौथो दिन ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि एडन माक्रम महत्त्वपूर्ण १३६ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान टेम्बा बभुमाले ६६ रन बनाएका थिए भने रयान रिकेलटन ६, विआन मुल्डर २७ रन र ट्रीस्टान स्टब्सले ८ रन बनाएका थिए । त्यस्तै, डेभिड बेडिङघमले अविजित २१ रन बनाएका थिए ।
यस टेस्टमा टस हारेर पहिला ब्याटिङ गर्दै अष्ट्रेलियाले २१२ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा १३८ रन मात्र बनाएको थियो । पहिलो इनिङमा ७४ रनको महत्वपूर्ण अग्रता हासिल गरेको अष्ट्रेलियाले दोस्रो इनिङमा २०७ रन बनाउदै दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको थियो ।
यो जितपछि दक्षिण अफ्रिका आइसिसी प्रतियोगितामा सेमिफाइनल र फाइनल पुगेर उपाधिविहीन हुने क्रम तोडिएको छ । दक्षिण अफ्रिकाले १९९८ पछि पहिलो पटक कुनै पनि आइसिसी प्रतियोगिता जितेको छ ।
विश्व टेस्ट च्याम्पियनसिप जितेसँगै दक्षिण अफ्रिकाले ३.६ मिलियन डलर पुरस्कार पाएको छ । त्यस्तै, उपविजेता अष्ट्रेलियाले २.१६ मिलियन डलर पुरस्कार पाएको छ ।
विश्व टेस्ट च्याम्पियनसिपको सुरुवात २०१९ देखि भएको थियो । पहिलो फाइनल २०२१ मा खेलिएको थियो र पहिलो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । फाइनलमा न्युजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै, दोस्रो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२३ मा भएको थियो । सो फाइनल अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो । यस फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको थियो ।