कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस सिन्धुली–काठमाडौँ सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताउनुभयो ।

नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले हामी सबैभन्दा ठुलो पार्टी छौँ । तर, हामी तीन वर्षदेखि कहा छौँ ? सोध्नुभयो वा सोच्नुभयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नुभएको छ ? सबैभन्दा ठुलो पार्टी हुँदाहुँदै पनि करिब तीन वर्षदेखि केही भएको छैन भनेर कसैले कसैलाई प्रश्न गर्दैन । नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो । तर, किन बन्यो भनेर प्रश्न गर्दैनौँ । नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न सकिँदैन भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन ।”

यस्तै, उहाँले आफैँ आफैँ बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैँमा चाहिँ कमजोर नभएको बताउनुभयो ।

उहाँले तल्लो तहका जिल्लाबासीहरुले आफ्ना कुराहरु स्पष्ट रुपले राखेको भन्दै खुसी पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस चलाएमान भएन भनेर भन्नुहुन्छ । म त के भन्छु भने कांग्रेस यति धेरै चलाएमान भएको मैले कहिले पाएको थिएन । मलाई आज खुसी के कुरामा लागेको भने तल्लो तहको जिल्लाबासीले आफ्ना कुराहरु स्पष्ट रुपले राख्नुभयो । तर, हामीहरु त्यो सुन्न तयार छैनौँ, नेताहरु त्यो सुन्न तयार छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *