देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा गयो, सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सरकारमा भए पनि सत्ताको साँचो वामपन्थीहरूसँग रहेको भन्दै अब पार्टीले सत्ताको नेतृत्व आफ्नो हातमा लिनुपर्ने बेला आएको बताएका छन् । देश कठिन परिस्थितिबाट गुज्रिरहेको र मध्यममार्गी शक्ति कमजोर हुँदा अराजकता निम्तिने खतरा औँल्याउँदै उनले कांग्रेसले नै देशलाई जोगाउन सक्ने दाबी गरे ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘सरकार र सत्ता फरक कुरा हुन् । हामी सरकारमा छौँ, तर सत्ताको चाबी हामीसित छैन । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त !’

कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गर्दै उनले भने, ‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ ।’

उनले नेकपा एमालेलाई कांग्रेसको भविष्यको प्रतिस्पर्धीको रूपमा चित्रित गर्दै एमालेका गलत कामहरूलाई नागरिकसमक्ष लैजान कार्यकर्ताहरूलाई निर्देशन दिए।

नेता कोइरालाले भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि सरकार निर्मम बन्नुपर्नेमा जोड दिए । ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै हुँदैन, त्यो देखिनुपर्‍यो,’ उनले भने, ‘तर प्रतिशोधको भावना लिएर हुँदैन । कसैलाई गर्ने, कसैलाई नगर्ने भन्ने हुँदैन । यहाँ प्रतिशोधको भावना भइरहेको देखिरहेको छु ।’

सुशासन कायम गर्न र जनतालाई विकासको अनुभूति (डेलिभरी) दिन कसैले नरोकेको भन्दै उनले दृढ इच्छाशक्ति भए सबै कुरा सम्भव रहेको बताए । ‘दण्डहीनता पराकाष्ठामा पुगिसकेको छ, त्यसको अन्त्य गर्नुपर्छ । सुशासन दिन सक्नुपर्छ । रोजगारी सिर्जना गर्न कोशिस गर्नुपर्छ । सकिँदैन भन्ने होइन, सकिन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *