प्रमिला कार्की
रेडियोलोजी भनेको साउन्डको वेभहरुलाई शरीरमा पठाएर जाँच गरिने एक प्रविधि हो । त्यस अन्तर्गत वेभहरुलाई रिफ्लेक्ट गरेर मेसिनले क्याप्चर गरेर साउण्डको माध्यमबाट फोटोमार्फत् शरीरका अंगहरुको अवस्था बुझ्न सकिन्छ । यसमा विकिरणको प्रयोग हुँदैन । त्यसकारण यो एकदमै सुरक्षित प्रविधि हो । एक्सरे र सिटी स्क्यानमा विकीरणको प्रयोग हुन्छ । तर, अल्ट्रासाउन्ड र भिडियो एक्सरेमा कुनै पनि विकीरण प्रयोग हुँदैन । त्यही भएर ढुक्क भएर अल्ट्रा साउन्ड गर्दा हुन्छ । यसले कुनै असर गर्दैन ।
रेडियोलोजीलाई दुई प्रकारमा विभाजन गर्न सक्छौँ । एउटा डाइग्नोस्टिक हो, यसले रोग पत्ता लगाउँछ । अर्को थेरेपेटिक हो, त्यसले रोगको उपचार गर्ने, रोग पत्ता लगाउनका प्रयोग गर्छौँ । शरीरमा भएका लगभग धेरै नै रोगहरु हामीले भिडियो एक्सरेबाट पत्ता लगाउन सक्छौँ ।
जस्तै, कलेजो सम्बन्धी रोगहरु वा मृगौलाको पत्थरी, पाठेघरमा मासु पलाएको समस्यालगायत हरेक किसिमको रोगहरु यसबाट पत्ता लगाउन सकिन्छ । खासगरि पित्तथैलीमा भएको पत्थरी पनि पत्ता लगाउन सकिन्छ । यस बाहेक गर्भवती महिलाहरुको बच्चाको विकासको अवस्था, बच्चा कुन महिनामा कति बढ्यो अर्थात् शारीरिक बृद्धिको अवस्थालगायतका कुराहरु पत्ता लगाउनका लागि पनि भिडियो एक्सरेले सहयोग गर्छ ।
अर्को थेरापेटिक प्रविधि पनि हुन्छ । त्यसले हाम्रो पेटभित्र वा फोक्सोमा पानी जम्यो भने त्यो पानीलाई भिडियो एक्सरेको सहायताले निकाल्न पनि सकिन्छ । सुइ हालेर निकाल्न पनि सकिन्छ । अर्को कुरा शरीरमा कुनै गिर्खाहरु आयो भने भिडियो एक्सरेले पत्ता लगाउन सक्छ । त्यसपछि मासुहरु निकाल्न पनि सकिन्छ ।
रेडियोलोजिस्टको भूमिका र नेपालको अवस्था
रेडियोलोजिस्टको भूमिका एकदमै महत्त्वपूर्ण र संवेदनशील हुन्छ । कुनै पनि बिरामीहरुको प्राथमिकता रोग पत्ता लगाउने कुरा सबैभन्दा महत्त्वपूर्ण हो । रोग पत्ता लगाउनका लागि महत्त्वपूर्ण भूमिका भनेको रेडियोलोजिस्टकै हुन्छ । किनभने बिरामीहरु एक्सरे गर्न आउँदा समस्याको पहिचान रेडियोलोजिस्टहरुले नै गर्छन् । त्यसपछि मात्र बिरामी उपचारमा जानुपर्ने हुन्छ । रोग पत्ता लागेपछि मात्र कुन उपचार पद्धतिमा जाने हो, त्यो थाहा हुन्छ । रोग पत्ता लागेपछि कस्तो उपचारमा जाने त्यो पनि रेडियोलोजिस्टले भनिदिनुपर्छ । त्यसकारण पनि हाम्रो भूमिका महत्त्वपूर्ण हुन्छ ।
विश्वका कुनै पनि विकसित देशहरुमा प्रयोग भइरहेका प्रविधिहरु नेपालमा आइसकेको छ । अल्ट्रासाउन्डसम्बन्धी ‘थ्रिडी’, ‘फोरडी’ मेसिनहरु आइसकेको छ । सिटीस्क्यानहरुको कुरा गर्दा २५६–५१२ को सिटीस्क्यान आइसकेको छ । अत्याधुनिक एमआरआई पनि नेपालमा सञ्चालित छन् । किनकी, अन्य देशहरुमा पनि यही प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको दृष्टिले नेपालमा कुनै कमी छैन । तर, समस्या के छ भने बिरामीहरु त्यस्ता प्रविधिको पहुँचसम्म पुग्ने अवस्था देखिँदैन । किनकी हामीले ति प्रविधिहरुलाई ठाउँठाउँमा पुर्याउन सकेका छैनौँ । प्रविधिहरु सहरहरुमा मात्रै केन्द्रित छन् । सबै तहका बिरामीको माझ पुग्न सकेको छैन । तर, प्रविधिमा चाहिँ एकदमै राम्रो विकास भएको छ ।
सबैभन्दा प्रमुख कुरा भनेको रेडियोलोजीमा प्रयोग हुने प्रविधिहरु नै हो । यस्ता प्रविधिहरु मार्फत् गरिने सेवा केही महँगो हुन्छ । किनकी मेसिनहरु एकदमै महङ्गो हुन्छन् । एउटा सानो मेसिन किन्नुपर्दा १०–१२ लाखदेखि सुरु भएर करोडौँ करोड मूल्य पर्छ । त्यसैले धेरै खर्चिलो हुने भएकाले ग्रामीण क्षेत्रमा पुर्याउन सकिएको छैन । अर्को कुरा भनेको यसमा गरिने लगानी पनि हो । लगानी अनुसारको प्रतिफल पनि छैन । करोडौँको लगानी गरेर आयस्रोत भएन भने पनि लगानी गर्नु पनि हुँदैन । महँगो मूल्य र जनशक्तिको अभावका कारण पनि यस्ता मेसिन ग्रामीण इलाकाहरुमा पुर्याउन सकिएको छैन ।
न्यून संख्यामा विशेषज्ञ
नेपालमा रेडियोलोजिष्टको संख्या चारपाँच सयको हाराहारीमा मात्रै होला । जसका कारण देशका कुना कुनामा पुगेर सेवा दिन कठिन भइरहेको छ । संख्या कम भएकाले पनि हामीमा भएको विशेषज्ञता गाउँ गाउँमा पुर्याउन एकदमै अप्ठ्यारो छ ।
जनशक्ति पुर्याउन नसक्नु सरकारको कमजोरी हो । त्यसमा विशेष ध्यान दिनुपर्ने अवस्था छ । सरकारले ध्यान दिने भनेको स्रोत साधनमा पनि हो । र अर्को चाहिँ जनशक्ति नै हो । यो दुई कुरामा विशेष ध्यान दिनुपर्छ । एउटा रेडियोलोजिष्ट गाउँमा गयो तर त्यहाँ एक्सरे वा अल्ट्रासाउन्ड मेसिन केही छैन भने गएर पनि के काम ? मेसिन भयो तर रेडियोलोजिष्ट भएन भने केही काम हुँदैन । त्यसैले सबैभन्दा प्रमुख कुरा भनेको यि दुईवटा कुरा गाउँमा पुर्याउन सरकारले पहल गर्नुपर्छ । जहाँ आवश्यक छ त्यहाँ लगेर व्यवस्था गर्न सक्नुपर्छ । मेसिन भयो भने गाउँमा गएर काम गर्न जो पनि तयार हुन्छ ।
बिमाको सवाल र एक्सरेको प्रभाव
स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा छ । तर अहिले बिमाको विषय निकै पेचिलो छ । बिमा कस्तो भइरहेको छ भने सरकारले जुन लगानी गरेको छ त्यो लगानी सही सदुपयोग हुन सकिरहेको छैन । बिमालाई जुन रुपमा प्रयोग गर्नुपर्ने हो त्यो राम्रोसँग अनुकरण गर्न सकेका छैनौँ । सरकारले बीमाको नीतिहरुलाई राम्रोसँग मनिटरिङ गर्न सकिरहेको छैन । धेरै कुराहरु मिसयुज भइरहेको छ । राज्यले राम्रोसँग मनिटरिङ गर्यो भने स्वास्थ्य क्षेत्रमा राम्रो प्रतिफल प्राप्त गर्न सक्छौँ ।
भिडियो एक्सरे दुई, तीन वा पाँच पटक गर्दा हाम्रो शरीरमा केही असर गर्दैन भनेर बिरामीले प्रश्न सोध्ने गर्छन् । तर, हजार पटक पनि भिडियो एक्सरे गरेपनि कुनै असर गर्दैन । किनभने एक महिना गर्भदेखि लिएर नौ महिनाको बच्चासम्म भिडियो एक्सरे गरिन्छ । जन्मेको बच्चाको समेत भिडियो एक्सरे गर्ने गरेका छौँ । यदि हाम्रो पेटमा भएको बच्चालाई त सुरक्षित रुपमा एक्सरे गर्दैन भने बाहिर निस्केको अरु मान्छेहरुलाई कुनै असर गर्दैन । सय वा हजार पटक अल्ट्रासाउण्ड र एक्सरे गरेपनि कुनै अंगमा समस्या आउँदैन । यसमा सबै जना ढुक्क हुँदा हुन्छ । उमेर विशेष भनेर केही पनि मापदण्ड निर्धारण गरिएको छैन । बरु भर्खरै जन्मेको बच्चाको टाउकोको पनि भिडियो एक्सरे गर्न सकिन्छ । टाउकोभित्र ब्रेनको विकास कस्तो भइरहेको छ भनेर बुढेसकालमा आउनुभएका बिरामीहरुको पनि टाउकोको भिडियो एक्सरे गर्न सकिन्छ ।
जुनसुकै उमेरका र शरीरको जुनसुकै अंगको पनि लगभग भिडियो एक्सरे गर्न सकिन्छ । एकदेखि डेढ बर्षसम्मको बच्चाको टाउको भिडियो एक्सरे समेत गर्न मिल्छ । यसैगरी घाँटी, हात, खुट्टा, पेट, छाती सबै ठाउँको भिडियो एक्सरे गर्न मिल्छ । जुनसुकै उमेरको मान्छेमा भिडियो एक्सरे गर्न मिल्छ । अल्ट्रासाउण्ड मेसिनको कुरा गर्दा हाल बजारमा आएको थ्रीडि र फोरडी मेसिन हो । प्राविधिक दृष्टिकोणमा हामी कुनै पनि अन्य देशभन्दा पछाडि छैनौँ । गर्भावस्थाको बेलामा राज्यले चार पटक भिडियो एक्सरे गर्ने भनेर भनेको छ । तर, आवश्यकता अनुसार जतिपटक पनि एक्सरे गर्न मिल्छ । त्यसले बच्चा र आमामा कुनैपनि असर गर्दैन । नेपालमा स्वास्थ्यसँग सम्बन्धित राम्रो मेनपावर छ । सबै दक्ष हुनुहुन्छ । हामी कुनै पनि देशको कुनै पनि मेनपावरहरु भन्दा कम छैनौँ । टेक्नोलोजि र ज्ञानका कुराहरुमा अब्बल छौँ । कुनै पनि अरु देशमा हुने सेवाहरु नेपालमा पनि दिन सक्छौँ । रेडियोलोजीमा हामी पूर्ण रुपमा दक्ष छौँ र राम्रो सेवा दिन सक्छौँ । -नेपाल न्यूज बैंक