वर्तमान अवस्थामा साइकल यात्राको महत्त्व झनै बढ्दै गएको छ : मन्त्री यादव

वर्तमान अवस्थामा साइकल यात्राको महत्त्व झनै बढ्दै गएको छ : मन्त्री यादव

काठमाडौँ, २४ जेठ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्त्व झनै बढ्दै गएको बताउनुभएको छ ।

आज काठमाडौँमा ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताउनुभयो ।

मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवर्द्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ । साइकल प्रयोगलाई प्रोत्साहन गर्न हामी सबै लाग्नु पर्छ ।”

यस्तै, उहाँले वातावरण जोगाउन र प्रदूषण मुक्त समाज बनाउन मारवाडी सेवा समाजले अगुवाई गरी उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै वातावरण सफा कसरी गर्ने, वातावरण कसरी स्वच्छ राख्ने सो विषयमा लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिर्वतनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिर्वतन हाम्रा लागि निकै चुनौतिको विषय बनेको छ । यो चुनौतीको समाधान गर्न आवश्यक छ ।”

साइकल यात्राले शारीरिक तन्दुरुस्ती सहित वातावरणीय चेतनाको प्रवाह पनि गर्ने भएकाले आजको युगमा यो अत्यन्त सान्दर्भिक रहेको मन्त्री यादवले बताउनुभयो ।

कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले सहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताउनुभयो ।

कार्यक्रममा पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, मारवाडी महिला मञ्चकी अध्यक्ष रेखा खेतान, कार्यक्रम संयोजक अरुण गोयल, मारवाडी सेवा समितिका पदाधिकारीहरु, मारवाडी युवा मञ्चका पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।

आजको उक्त कार्यक्रममा दजर्नौ साइकल यात्रीहरूको सहभागिता रहेको थियो । काठमाडौँको बिवाइडी पार्किङ नक्सालबाट सुरु भएको उक्त यात्रा यहाँका विभिन्न क्षेत्र हुँदै ललितपुरको पाटन दरबार क्षेत्रमा गएर समापन गरिएको कार्यक्रम संयोजक अरुण गोयलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *