माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरुको भाष्य खारेज भयो : प्रचण्ड

बारा, ७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बनाउँदै गएको बताउनुभएको छ । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताउनुभयो । उहाँले गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरुको भाष्य खारेज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ । अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद...

बारा, ७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बनाउँदै गएको बताउनुभएको छ ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताउनुभयो ।

उहाँले गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरुको भाष्य खारेज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ । अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौँ ठुला क्याम्पसमा तिसौँ वर्षदेखिका रेकर्ड तोडिएका छन् । युवा विद्यार्थीहरु अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ ।’

अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताउनुभयो ।

यस्तै, उहाँले यो अभियानले तराई मधेसमा बस्ने जनताको पहिचान, आत्मसम्मान र अधिकारलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै माओवादी र मधेसी जनताको बीचमा गहिरो सम्बन्ध स्थापित हुने बताउनुभयो ।

हुलाकी मार्ग दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले हुलाकी मार्ग निर्माणले गति लिइरहेको भए पनि विभिन्न ठाउँमा पुल बन्न नसकेकाले यो मार्गलाई पूर्णता दिन पनि अभियानले सहयोग गर्ने बताउनुभयो ।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको पनि उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *