
खाँदबारी, ३० जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नम्बर २ ले कफीखेती प्रवर्द्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई कफीका बिरुवा वितरण गरेको छ । वडामा रहेका चार वटा टोलका किसानलाई पाँच हजार ८०० कफीका बिरुवा निःशुल्क वितरण गरिएको वडाध्यक्ष फुर्दावा शेर्पाले बताउनुभयो ।
कफीखेतीलाई आयआर्जनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्न वडा कार्यालयले विशेष प्राथमिकता दिएर कफिका बिरुवा वितरण गरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । वडा नम्बर २ लाई आगामी दिनमा कफी पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यअनुरूप कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
पहिलो चरणमा पिङडाँडा, झाँक्रीचोक, धनसार र चितलाङ टोलमा बिरुवा वितरण गरिएको छ । कफीखेतीका लागि उपयुक्त हावापानी र भूगोल भएकाले बिरुवा वितरण गरिएको हो ।
कफीखेती विस्तारसँगै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ । स्थानीय किसानले निःशुल्क रूपमा प्राप्त बिरुवाले कफीखेती विस्तार गर्न उत्साह मिलेको बताएका छन् । उत्पादनपछि बजार व्यवस्थापन र प्राविधिक सहयोगमा समेत स्थानीय तहले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
चैनपुर नगरपालिका–२ ले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न नगदेबाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।