रङ्गमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन्– ‘महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

आकाङ्क्षा धामी काठमाडौँ, २५ जेठ । गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ । करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको नाटकले कलाकारहरूलाई अभिनयको नयाँ अनुभव मात्रै दिएको छैन, समाजमा विद्यमान जातीय विभेद्‌, अवसरको असमानता र मानवीय संवेदनाका विषयमा प्रश्न गर्न पनि प्रेरित गरेको छ । हास्यव्यङ्ग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यो नाटकमार्फत पहिलोपटक औपचारिक रूपमा रङ्गमञ्चमा उभिएका छन् । तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ । उहाँका अनुसार एकल प्रस्तुतीकरणमा कलाकार अपेक्षाकृत स्वतन्त्र हुन्छन् । तर, नाटकमा पात्र, प्रकाश, ध्वनि, निर्देशन र सहकलाकारसँगको समन्वयले प्रस्तुति सफल बनाउँछ । यही सामूहिकताको पाठ आफूले ‘महाभारत’बाट सिकिरहेको गजुरेल बताउनुहुन्छ । “जुन नाटक हामी गरिरहेका छौँ, ‘महाभारत’, यसमा मलाई डेजाभु भएको जस्तो लाग्छ,” गजुरेल भन्नुहुन्छ, “यस्तै नाटक मैंले कुनैबेला गरेको थिएँ कि, यिनै साथीहरू, यिनै पात्रहरूसँग यस्तै भेटघाट भएको थियो कि भन्ने अनुभूति हुन्छ ।” उहाँका अनुसार एकल प्रस्तुति...

रङ्गमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन्– ‘महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’
आकाङ्क्षा धामी

काठमाडौँ, २५ जेठ । गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ । करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको नाटकले कलाकारहरूलाई अभिनयको नयाँ अनुभव मात्रै दिएको छैन, समाजमा विद्यमान जातीय विभेद्‌, अवसरको असमानता र मानवीय संवेदनाका विषयमा प्रश्न गर्न पनि प्रेरित गरेको छ ।

हास्यव्यङ्ग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यो नाटकमार्फत पहिलोपटक औपचारिक रूपमा रङ्गमञ्चमा उभिएका छन् । तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ ।

उहाँका अनुसार एकल प्रस्तुतीकरणमा कलाकार अपेक्षाकृत स्वतन्त्र हुन्छन् । तर, नाटकमा पात्र, प्रकाश, ध्वनि, निर्देशन र सहकलाकारसँगको समन्वयले प्रस्तुति सफल बनाउँछ । यही सामूहिकताको पाठ आफूले ‘महाभारत’बाट सिकिरहेको गजुरेल बताउनुहुन्छ ।

“जुन नाटक हामी गरिरहेका छौँ, ‘महाभारत’, यसमा मलाई डेजाभु भएको जस्तो लाग्छ,” गजुरेल भन्नुहुन्छ, “यस्तै नाटक मैंले कुनैबेला गरेको थिएँ कि, यिनै साथीहरू, यिनै पात्रहरूसँग यस्तै भेटघाट भएको थियो कि भन्ने अनुभूति हुन्छ ।”

उहाँका अनुसार एकल प्रस्तुति र रङ्गमञ्चीय नाटकबिच ठुलो अन्तर छ । “पहिलो नाटक भनिए पनि मैले अरू गरेको कर्म पनि नाटकै हो । तर, त्यहाँ मेरो सोलो हुन्थ्यो । सोलोमा कलाकार स्वतन्त्र हुन्छ, कन्टेन्टको बाउन्ड्री हुँदैन तर यो नाटक टिमवर्क रहेछ,” उहाँले भन्नुभयो, “समूहमा भाइब्रेसनले कसरी काम गर्छ र सामूहिक कामको उपलब्धि के हुन्छ भन्ने कुरा यो नाटकबाट सिक्दैछु ।”

गजुरेल अभिनयलाई निरन्तर सिकाइको प्रक्रिया मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जति बुझ्दै गयो उति महासागर हुन्छ । सुरुमा अभिनय सजिलो लाग्छ । अहिले हरेकचोटि नाटक गर्दा झन् गाह्रो र झन् बढी जिम्मेवारी थपिएको जस्तो लाग्छ ।”

गजुरेलले कलाकारको सिकाइको कुनै उमेर र पदानुक्रम नहुने बताउनुभयो । उहाँले ठुलालाई सम्मान गर्ने र सानोलाई माया गर्ने संस्कार भएकाले सिक्ने र सिकाउने कुरा जोसुकैबाट पनि हुने सक्ने बताउनुभयो ।

“कलामा जुनियर–सिनियर भन्ने हुँदैन,” उहाँले भन्नुभयो, “ठुलालाई सम्मान गर्ने र सानालाई माया गर्ने हाम्रो संस्कार हो । तर, सिक्ने र सिकाउने कुरा जहाँबाट पनि हुन सक्छ । म पनि नयाँ पुस्ताबाट धेरै कुरा सिकिरहेको छु ।”

नाटकमा गणेशको भूमिकामा रहेका गजुरेलले रङ्गमञ्चीय अभिनयले पात्रभित्रै डुबाउने अनुभव दिएको सुनाउनुभयो । हास्य कलाकारको परिचय बनाएका गजुरेलका लागि रङ्गमञ्चको अनुभव भने फरक रहेको छ ।

“म स्टेजमा हुँदा मनोज गजुरेल अभिनय गर्दै छु भन्ने लाग्दैन, म गणेश नै भएको महसुस हुन्छ । नाटक खेलिरहेका छैनौँ, महाभारतलाई पुनः दोहोर्‍याइरहेका छौँ जस्तो अनुभूति हुन्छ । कमेडी गर्दा मेरो ध्यान दर्शक हास्छन् कि हास्दैनन्, ताली बज्छ कि बज्दैन भन्नेमा हुन्छ,” उहाँले भन्नुभयो, “तर, नाटकमा निर्देशकले पात्रमार्फत के भन्न खोजेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यहाँ हामी आफैँभित्रबाट पोखिन्छौँ ।”

नाटकमा एकलव्यको भूमिका निर्वाह गरिरहेका कलाकार सन्दीपले गजुरेलसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएका छन् । उहाँ भन्नुहुन्छ, “मनोज दाइजस्तो वरिष्ठ कलाकारसँग काम गर्दा कुनै दबाब महसुस भएन । उहाँसँगको सम्बन्ध निकै सहज र आत्मीय बन्यो, जसले अभिनयलाई अझ जीवन्त बनायो ।”

उहाँका अनुसार नाटकमा केवल महाभारतकालीन कथा मात्र छैन, समकालीन समाजका गम्भीर प्रश्नहरू पनि छन् । विशेषगरी जातीय विभेद्‌, अवसरबाट वञ्चित गरिने प्रवृत्ति र योग्यताभन्दा सामाजिक संरचनाको प्रभावजस्ता विषयलाई नाटकले उठाएको छ ।

गजुरेलका अनुसार समाजले एकलव्यको कथालाई प्रायः गुरुभक्तिको दृष्टिकोणबाट मात्र हेर्दै आएको छ । “हामीले एकलव्यको औँला चढाउने त्यागलाई मात्रै देख्यौँ, तर त्यो निर्णय गर्न उनी किन बाध्य भए भन्ने पक्ष कम चर्चा गरियो,” उहाँले भन्नुभयो । नाटकले यही प्रश्नलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरेको उहाँको भनाइ छ ।

नाटकले आजको समाजमा अझै जीवित रहेका जातीय पूर्वाग्रहहरूलाई पनि उजागर गर्ने प्रयास गरेको छ । बाहिरबाट समानताको कुरा गर्ने तर व्यवहारमा विभेद कायम राख्ने प्रवृत्तिमाथि यसले प्रहार गरेको कलाकारहरूको बुझाइ छ ।

निर्देशक नवीन भट्टको काम गर्ने शैलीको समेत प्रशंसा गर्दै गजुरेलले नाटकलाई कलाकारमैत्री वातावरणमा तयार गरिएको बताउनुभयो । कलाकारहरूको क्षमता र शैलीलाई सम्मान गर्दै निर्देशन गरिएको उनको अनुभव छ । कान्तिपुर थिएटरमा मञ्चन भइरहेको ‘महाभारत’ले महाभारतकालीन पात्रहरूको पुनःपााठमार्फत समकालीन समाजका जटिल प्रश्नहरू दर्शकमाझ राख्ने प्रयास गरेको छ । –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *