
काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भारतका विदेशमन्त्री डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।