
काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबिच भेटवार्ता भएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबिच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
भेटवार्तामा उहाँहरुबिच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको थियो ।
भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उहाँहरुबिच छलफल भएको डा.अधिकारीले बताउनुभयो ।
सो क्रममा उहाँहरुबिच दुई देशबिचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो ।
यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।