
काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नका लागि नभइ जवाफदेहीताको खोजी भएको बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभइ निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नका लागि नभइ जवाफदेहीताको खोजी भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन् । यो निरन्तर संवादको अभ्यास हो । त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउनु उहाँको उपस्थिति खोज्नु उहाँको केवल अनुहार हेर्नका लागि होइन । उहाँबाट जवाफदेहीता खोजेका हौँ ।”
ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली सदनबाट बाहिरिँदा आफूहरूले स्वीकार गरेको उल्लेख गर्दै दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित गएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले सदनमा सुकुमबासी र संवैधानिक परिषद्सम्बन्धी प्रश्न उठाउँदा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश र जनतालाई जवाफ दिने गरेको टिप्पणी समेत गर्नुभयो । प्रधानमन्त्री सदनप्रति अनिच्छुक भएको र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न नखोजेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, “पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली जानुभयो हामीले स्वीकार गरेका थियौँ । दोस्रो अधिवेशन सुरू भयो नीति तथा कार्यक्रम त्यो उहाँको कार्यक्रम हो । उहाँले अपनत्व नलिइकन कार्यक्रमको बिचमा उठेर जानुभयो । उहाँको केही बाध्यताहरु पनि थिए होलाँ । हामी सदनमा सुकुमबासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौँ प्रधानमन्त्रीज्यू आफ्नो सामाजिक सञ्जालमा देश र जनतालाई जवाफ दिनुहुन्छ । सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनइच्छुक हुनुहुन्छ । संसदीय अभ्यासप्रति उत्तरदायी बन्न खोज्नुभएको छैन । उहाँको आवाज एउटा दिशा बन्छ भनेर हामीले खोजेका हौँ ।”