कम्युनिस्ट पार्टीमा आत्मसमीक्षा जरुरी छ, जनतामुखी पुनर्गठनतर्फ अघि बढ्नुपर्छ : प्रेमल खनाल

प्रमिला कार्की काठमाडौँ, २३ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेमल कुमार खनालले पछिल्लो निर्वाचनपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनःसंरचनाको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्दै जनतामुखी, परिणाममुखी र विचार केन्द्रित बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो । खनालका अनुसार निर्वाचन सम्पन्न भइसकेपछि पार्टीभित्र व्यापक रूपमा समीक्षा गर्ने अभियान सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “हामीले निर्वाचनमा किन अपेक्षाअनुसार सफलता हासिल गर्न सकेनौँ, किन जनताको विश्वास पूर्ण रूपमा जित्न सकेनौँ भन्ने विषयमा गम्भीर रूपमा छलफल गरिरहेका छौँ । समीक्षा केवल केन्द्रीय तहमा मात्र होइन, गाउँ, जिल्ला र प्रदेश तहसम्मबाट भइरहेको छ।” उहाँले यस प्रक्रियाले पार्टीका कमजोरी, चुनौती र सम्भावनालाई स्पष्ट रूपमा देखाएको बताउनुभयो । उहाँले हालै पार्टीको केन्द्रीय कार्य समन्वय समिति गठन गरिएको जानकारी दिँदै सो समितिले पार्टीको भावी कार्यदिशा, संगठन निर्माणको ढाँचा र रणनीतिक योजना तयार पार्ने काम गरिरहेको बताउनुभयो । “हामी अब पुरानो ढाँचामा सीमित रहने होइन, नयाँ...

कम्युनिस्ट पार्टीमा आत्मसमीक्षा जरुरी छ, जनतामुखी पुनर्गठनतर्फ अघि बढ्नुपर्छ : प्रेमल खनाल

प्रमिला कार्की

काठमाडौँ, २३ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेमल कुमार खनालले पछिल्लो निर्वाचनपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनःसंरचनाको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्दै जनतामुखी, परिणाममुखी र विचार केन्द्रित बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

खनालका अनुसार निर्वाचन सम्पन्न भइसकेपछि पार्टीभित्र व्यापक रूपमा समीक्षा गर्ने अभियान सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “हामीले निर्वाचनमा किन अपेक्षाअनुसार सफलता हासिल गर्न सकेनौँ, किन जनताको विश्वास पूर्ण रूपमा जित्न सकेनौँ भन्ने विषयमा गम्भीर रूपमा छलफल गरिरहेका छौँ । समीक्षा केवल केन्द्रीय तहमा मात्र होइन, गाउँ, जिल्ला र प्रदेश तहसम्मबाट भइरहेको छ।”

उहाँले यस प्रक्रियाले पार्टीका कमजोरी, चुनौती र सम्भावनालाई स्पष्ट रूपमा देखाएको बताउनुभयो । उहाँले हालै पार्टीको केन्द्रीय कार्य समन्वय समिति गठन गरिएको जानकारी दिँदै सो समितिले पार्टीको भावी कार्यदिशा, संगठन निर्माणको ढाँचा र रणनीतिक योजना तयार पार्ने काम गरिरहेको बताउनुभयो ।

“हामी अब पुरानो ढाँचामा सीमित रहने होइन, नयाँ सोच, नयाँ शैली र नयाँ कार्ययोजनासहित अघि बढ्न चाहिरहेका छौँ,” उहाँले भन्नुभयो ।

खनालले पार्टीको संगठन विस्तार भए पनि विचार, दृष्टिकोण र कार्यक्रम प्रभावकारी रूपमा जनतामाझ पुग्न नसकेको स्वीकार गर्नुभयो । उहाँका अनुसार पार्टीभित्र कार्यशैलीमा कमजोरी देखिएको छ र त्यसले जनतासँगको सम्बन्ध कमजोर बनाएको छ ।

उहाँले विशेषगरी किसान, सुकुमबासी, श्रमिक, सहकारी पीडित र युवाका मुद्दामा पार्टीले अपेक्षाअनुसार नेतृत्व गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा विचारहरु सोचहरु दृष्टिकोणहरुलाई अझै पनि हामीले मौखिक गर्न सकिरहेका रहेनछौँ । आज हाम्रो कार्यशैलीहरु पनि बिस्तारैे कमजोर भइरहेका रहेछन् । जनताबाट पनि थोरै टाढिए छौँ। किसान, सुकुम्बासी, सहकारी पीडितका समस्या छन् । उखु किसानहरु सिराहा र सर्लाहीबाट पैदल हिँडेर काठमाडौँ आउने गर्छन् । त्यहाँ कम्युनिस्ट पार्टीले अगुवाइ गर्न सकिरहेको छैन।”

उहाँका अनुसार भूमिहीन र सुकुम्बासीका समस्या पनि दीर्घकालीन रूपमा समाधान गर्न पार्टीले ठोस पहल गर्न सकेको छैन । खनालले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै जानु, देशभित्र रोजगारीको अभाव रहनु र उत्पादन क्षेत्रमा गिरावट आउनु जस्ता समस्याले जनताको जीवन झन् कठिन बनाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज लाखौँ युवा विदेश जान बाध्य छन् देशभित्र उत्पादन छैन, रोजगारी छैन, जसले गर्दा आर्थिक अवस्था झन् कमजोर बन्दै गएको छ ।”

उहाँले कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै विगतमा वामपन्थी शक्तिले उल्लेखनीय जनमत प्राप्त गरेको बताउनुभयो । “२०४८, २०५१, २०६४ र २०७४ का चुनावहरूमा वामपन्थी शक्तिले उल्लेखनीय सफलता हासिल गरेको थियो । अहिले त्यो जनमत किन खस्कियो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ ।”

उहाँका अनुसार जनताको अपेक्षा पूरा गर्न नसक्नु नै यसको मुख्य कारण हो । खनालले पार्टी सरकारमा सहभागी हुँदा पनि जनताको जीवनमा प्रत्यक्ष सुधार ल्याउने काम गर्न नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा गयौँ । सहि आर्थिक नीति अवलम्बन गर्न सकेनौँ । पुँजीवादी आर्थिक नीति भयो । समाजवादी वा आर्थिक नीति कार्यक्रम व्यवहारमूखी चाहिएको हो । त्यसमा केही कमजोरीहरु भए । समाजवादी आर्थिक नीति कार्यक्रम लागु गरेर जानुपर्छ । यसमा केही कमजोरी भएका छन् ।”

खनालले अबको आवश्यकता समाजवादी आर्थिक नीति भएको बताउनुभयो । उहाँले उत्पादन वृद्धि, वैज्ञानिक भूमिसुधार, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, उद्योग विकास, शिक्षा र स्वास्थ्यमा समान पहुँच जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न र खानेपानी जस्ता आधारभूत सेवामा राज्यले सुनिश्चितता दिनुपर्ने धारणा व्यक्त गरे। उनले विद्यमान आर्थिक संकट, गरिबी, बेरोजगारी र सुशासनको अभावले जनआक्रोश बढाएको पनि उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारको नीति तथा कार्यक्रमप्रति पनि चासो व्यक्त गर्दै त्यसले जनताको समस्या समाधान गर्नेगरी ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । “सरकारले कस्तो आर्थिक नीति ल्याउँछ, बजेट कस्तो आउँछ भन्ने कुरामा हामीले निगरानी राख्ने छौँ । आवश्यक परे सुझाव दिने र खबरदारी गर्ने काम पनि गर्छौँ,” उहाँले भन्नुभयो ।

खनालका अनुसार पार्टीले अब जनतामुखी कार्यक्रम, आन्दोलन र संघर्षमार्फत आफ्नो उपस्थिति बलियो बनाउने योजना बनाएको छ । उहाँले पार्टीको दीर्घकालीन लक्ष्य समाजवादी व्यवस्था स्थापना गर्नु रहेको स्पष्ट पार्नुभयो । खनालले पार्टीले विगतका कमजोरीबाट सिक्दै नयाँ ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार आगामी दिनमा स्पष्ट कार्ययोजना, सशक्त संगठन र जनतामुखी नीतिमार्फत नेपाली कम्युनिस्ट पार्टीले आफ्नो भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ । –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *