
मोरङ, २० वैशाख । सर्प देख्नेबित्तिकै धेरै मानिसहरू डरले आत्तिन्छन् । कोही भाग्छन्, कोही मार्न खोज्छन् । तर, मोरङको उर्लाबारीकी सम्झना राई भने यही डरलाई चुनौती दिँदै सर्प र मानव दुवैको जीवन जोगाउने अभियानमा होमिनुभएको छ ।
सङ्खुवासभाको खाँदबारीमा जन्मिनुभएकी सम्झना हाल उर्लाबारी–१ मा बसोबास गर्नुहुन्छ । पछिल्लो चार वर्षदेखि उहाँ सक्रिय रूपमा सर्प उद्धारमा लाग्नुभएको छ । यो अवधिमा उहाँले करिब एक हजारभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसक्नुभएको छ । स्थानीय क्षेत्रमा सर्प देखिएपछि सबैभन्दा पहिले सम्झनालाई नै खबर गरिन्छ, र उहाँ निडर भएर उद्धारका लागि पुग्नुहुन्छ ।
सामान्यतया सर्पलाई मानिसहरूले शत्रुको रूपमा लिने गर्छन् । तर, सम्झनाको दृष्टिकोण भने फरक छ । “सर्प हाम्रो शत्रु होइन, प्रकृतिको महत्त्वपूर्ण हिस्सा हो,” उहाँ भन्नुहुन्छ । सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्तिविरुद्ध उहाँ जनचेतना फैलाउँदै हिँडिरहनुभएको छ ।
यद्यपि, उहाँको यो यात्रा भने सहज थिएन । परिवारको चिन्ता, समाजको आलोचना र ‘महिलाले यस्तो काम गर्न सक्दैनन्’ भन्ने सोचका बिच पनि उहाँ आफ्नो लक्ष्यमा अडिग रहनुभयो । चितवनमा विशेष तालिम लिएपछि उहाँले विषालु र अविषालु सर्प छुट्याउने सीप हासिल गर्नुभयो, जसले उहाँको कामलाई थप सुरक्षित र प्रभावकारी बनाएको छ ।
अहिले उहाँ उद्धार मात्र होइन, जनचेतना अभिवृद्धिमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विद्यालय, समुदाय र विभिन्न कार्यक्रममार्फत सर्पबारे सही जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “डरले होइन, ज्ञानले समस्या समाधान हुन्छ ।”
सम्झना मिडियामा पनि सक्रिय हुनुहुन्छ । उहाँले आफ्नै अनलाइन मिडिया सञ्चालन गर्दै सामाजिक कामलाई अझ व्यापक बनाउनुभएको छ । पीडितलाई न्याय दिलाउनेदेखि बिरामीको उपचारका लागि सहयोग जुटाउनेसम्मका काममा उहाँको सक्रियता देखिन्छ । साहस, सेवा र सचेतनाको अद्वितीय संयोजन बनेकी सम्झना राई आज धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।