
सन्तोषी रावल
काठमाडौँ, २० वैशाख । आज विश्व हासो दिवस । सामाजिक सञ्जाल हासोका तस्बिर र शुभकामनाले भरिएका छन् । तर, काठमाडौँका नदी किनार र देशका विभिन्न स्थानमा बसोबास गर्ने सुकुमबासीहरुमा हासो होइन, रुवाईको आवाज गुञ्जिरहेको छ । जहाँ अरूले ‘मुस्कान बाँडौँ’ भन्दै उत्सव मनाइरहेका छन्, त्यहीँ केही अनुहारहरू आफ्नै आश्रय भत्किएको धुलोभित्र हराइरहेका छन् । हाँसोको दिनमा पनि उनीहरूको ओठ सुक्खा छ, आँखा रसाइरहेका छन् ।
साना छाप्रामा सन्तोष मान्दै बाँचिरहेका ती परिवारहरू आज घर न घाटको बनेका छन् । कसैको घर भत्किसकेको छ, कसैको भत्किँदै छ, र कसैले भोलि आफ्नो पालो आउने डरले आफैँ घर खाली गरिरहेका छन् । चुनावअघि देखाइएको सपनाले उनीहरूलाई आशा दिएको थियो–रोजगार मिल्नेछ, व्यवस्थित बसोबास हुनेछ । तर, आज त्यो आशा धुवाँजस्तै उडिरहेको छ । उनीहरू आफ्नै घरको भग्नावशेष छेउमा बसेर टोलाउँदै छन् ।
यहीँ भिडभाड र पीडाको बीचमा दुई जना साथी आकस्मिक रूपमा भेटिन्छन् । एक जनाको अनुहारमा हाँसो छ, सायद उसले जीवनलाई सहज रूपमा अघि बढाइरहेको छ वा उसलाई आजको दिनको अर्थ केवल ‘हासो’ मात्र थाहा छ । अर्को साथीको आँखामा भने आँसु भरिएको छ, ओठ काँपिरहेको छ । उनीहरू केहीबेर चुपचाप एकअर्कालाई हेर्छन् । हासिरहेको साथीले सोध्छ ‘आज त हासो दिवस हो, किन यस्तो उदास ? जवाफमा आँसु झर्छ । यहाँ हरेक दिन रुवाईको दिवस हो, साथी… हासो त कहिल्यै हाम्रो भागमा परेन ।’
जब संसारले हासो खोजिरहेको छ, सुकुमबासी बस्तीले न्याय खोजिरहेको छ । प्रश्न अझै त्यहीँ छ जहाँ बाँच्ने आधार नै भत्किएको छ, त्यहाँ हाँसो कसरी आउँछ ? अनि कहिले आउँछ ?
सञ्जोकः अचानक सफा–चिटिक्क भएर साथी भएको ठाउँमा आइपुग्छ र खुसी हुँदै भन्छ–आज मेरो ममी र बाबाले मलाई घरमा धेरै हसाउनुभयो । हामी सबै मरिमरि हास्यौँ । ल आउ न, हामी पनि हासौँ । आज त हासो दिवस हो नि, साथी । (अर्को साथी माटोमा लत्पतिएको, आँखा रसाएको अवस्थामा देखिन्छ ।)
बिरानः तिमी हास, तिमी सुरक्षित छौँ । आमाको काख छ, ढलानको घर छ, सोफामा बस्छौँ । सुत्ने छुट्टै, खाने छुट्टै ठाउँ छ । साथी, मेरो हालत पनि हेर ।’
सञ्जोकः ‘हेर न, हास्नका लागि घर वा सुरक्षित ठाउँ किन चाहियो र ? भगवानले दिएका ओठ छन् नि १ आउ न, हाँसौँ ।’ (भन्दै साथीलाई तान्न खोज्छ, तर फेरि हात हटाउँछ ।)
बिरानः ‘साथी, हासो त भित्रबाट आउनुपर्छ । मेरी आमालाई हेर, धुलोले लत्पतिएकी छन् । बुवालाई हेर, घरको सामानको थुप्रोमाथि बसेर आँसु झारिरहनुभएको छ । मेरा भाइबहिनीलाई हेर, डोजरले घर भत्काएको हेर्दै छन् । अबोध बालबालिकालाई केही थाहा छैन उडेको धुलोमा आँखा मिच्दै रमाएर डोजरको काम हेरिरहेका छन् । म कसरी हासु, साथी ?’
सञ्जोकः ‘तिम्रो कुरा सुनेर म नै भावुक भएँ । साँच्चै, तिमीहरू अहिले कहाँ बस्छौँ ?’
बिरानः ‘यो कुरा सरकारले सोध्नुपर्ने थियो । तिमीले सोध्यौ, तर हामी कहाँ बसौँ ? कतै बस्ने ठाउँ भएको भए त यहाँ किन आउनुपथ्र्यो र ?’
मेरा बा–आमाले यही घर देखाउँदै ‘यही हाम्रो बस्ती हो’ भन्नुहुन्थ्यो । हामी यहीँ खुसीका साथ बसिरहेका थियौँ । तर, आज सबै बस्ती डोजर लगाएर भत्काइदियो ।’
(दुवै साथी भावुक हुँदै कुरा गरिरहँदा सुकुम्बासी बस्ती पूरै भत्काइसकिएको हुन्छ । धुवाँ उडिरहेको छ, डोजर अझै भत्काइरहेको छ ।)
सञ्जोकः ‘आज सबैले हासो दिवस मनाइरहेका छन् । म पनि तिमीलाई लिएर हास्न, रमाउन भनेर घरबाट निस्केको थिएँ । तर, तिम्रो पीडामा म आफ्नो खुसीमा कसरी हासु, साथी ?’
बिरानः ‘हामी सुकुम्बासीको हासो यो सरकारले लुटिदियो । तिमीलाई थाहा छ नि, म सानो कुरामा पनि कति खुसी हुन्थेँ, कति हास्थेँ । तर, आज मेरो परिवार र हाम्रो बस्ती नै नष्ट गरिदियो ।’
कतिले हाम्रो दुःखमा मजाक उडाए, ढलानका घर भएका बस्ती हेर्न रमाइलो मानेर आए । तर, सुकुमबासीको आँखामा हेर रोदन मात्र छ । दिनको भोक लुट्यो, रातको निन्द्रा लुट्यो, ओठको हासो लुट्यो केवल आँखामा आँसु छाडिदियो । विकास र व्यवस्थापनका नाममा घर न घाटको बनाइदियो ।
सञ्जोकः आज त विश्व स्तन्त्रता दिवस पनि हो । सडकमा र्याली गर्दैछन् ।
बिरानः हो, साथी सबै जना दिवस मनाउँदै सडकमा आएका छन् । हामी बाध्यताले सडकमा बसेका छौँ । भो साथी अब तिमी जाऊ, साथी । तिमी सफा चिटिक्क छौँ, यो धुलोमा नबस, बिरामी होलाउ । म त बानी परेँ धुलो नै मेरो साथी बनेको छ । म अब धेरै कुरा गर्न सक्दिनँ..’
(भन्दै बिरान बिस्तारै टाढा जान्छ।)
हालको सुकुमबासीहरूको अवस्था निकै दुःखद् छ । माथिको काल्पनिक संवाद सुकुमबासीसँग मिल्लोजुल्दो छ । जहाँ उनीहरू सानो घरमा बस्दै सानो–तिनो गुजारा चलाइरहेका थिए, त्यहाँ पनि सरकारले शान्तिपूर्वक बस्न दिएन । भविष्यमा केही राम्रो हुन्छ भन्ने आशा त छ, तर सुकुमबासी बस्ती व्यवस्थापनको क्रममा सरकारले पहिले उचित र व्यवस्थित स्थानको व्यवस्था गरेर मात्र बस्ती हटाउनु उचित हुन्थ्यो ।
पहिलेका सरकारहरूले सुकुमबासीलाई ‘भोट बैंक’का रूपमा प्रयोग गरे । उनीहरूको समस्या कहिल्यै गम्भीर रूपमा सुनेनन् । नयाँ सरकारले भने उनीहरूलाई उठिबास गराएको छ ।
‘हामी यो देशका नागरिक हौँ भन्ने पहिचान चुनावको एक महिना अगाडिदेखि चुनावकै दिन मात्र हुने रहेछ,’ भन्दै सुकुमबासीहरू भावुक बनेका छन् । अझ भनौँ सामाजिक सञ्जालमा कतिपय मानिसहरूले यस विषयलाई लिएर मजाक उडाउँदै पोस्टहरू बनाइरहेका छन् । मान्छेको घर हटाइएको होइन, किनारछेउका सुकुमबासीका घर मात्र भत्काइएका हुन क्या’ भन्ने जस्ता अभिव्यक्तिहरूले पीडितहरूको घाउमा झन नुन छर्किने काम गरिरहेका छन् ।
आज विश्व हासो दिवस मनाइँदै गर्दा धेरै मानिसहरू हाँसिरहेका छन्, तर सुकुमबासीहरू भने रोइरहेका छन् । उनीहरू मानसिक र शारीरिक रूपमा कमजोर बन्दै गएका छन् । आशा गरौँ, अबको सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै, अहिले रोइरहेका सुकुमबासीहरूको अनुहारमा छिट्टै खुसी ल्याओस् । सानो ठुलो भन्ने भेद्भाव नगरी सबै नेपालीका ओठमा हासो ल्याउन सकोस् । यही सन्देशसहित विश्व हासो दिवसको शुभकामना । –नेपाल न्युज बैङ्क