द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरू बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान

काठमाडौँ, १८ वैशाख । बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ मोक्तानले वर्तमान विश्वमा बढ्दो उपभोक्तावाद र मानसिक तनावका बिच गौतम बुद्धको ‘मध्यम मार्ग’ झन् सान्दर्भिक बन्दै गएको बताउनुभएको छ । बुद्ध जयन्तीको सन्दर्भमा नेपाल न्युज बैङ्कसँगको विशेष संवादमा उहाँले बुद्ध दर्शनको दार्शनिक, सामाजिक–राजनीतिक र विश्वव्यापी प्रभावबारे विस्तृत धारणा राख्नुभएको हो । मोक्तानका अनुसार बुद्ध दर्शनलाई केवल धार्मिक दृष्टिले मात्र नभइ गहिरो दार्शनिक प्रणालीका रूपमा बुझ्न आवश्यक छ । उहाँका अनुसार दर्शनशास्त्रभित्र ‘तत्वमीमांसा’ (अस्तित्वको विज्ञान) नामक शाखाले ब्रह्माण्डको अन्तिम सत्यको खोजी गर्छ । वैदिक परम्परामा यसलाई ‘ब्रह्म’ भनिएपनि बौद्ध परम्पराले चेतनाको अन्तिम अवस्थालाई ‘बुद्ध’ को रूपमा व्याख्या गरेको उहाँले बताउनुभयो । “सम्यक सम्बुद्ध भनेको सम्पूर्ण सृष्टिको अन्तिम सत्यमा पुगेको अवस्था हो, र सिद्धार्थ गौतम त्यसको एक उदाहरण हुन,” उहाँले भन्नुभयो । उहाँका अनुसार एसियामा हजारौँ वर्षदेखि वैदिक, बौद्ध र भौतिकवादी तीन प्रमुख विचारधाराबिच दार्शनिक बहस हुँदै आएको छ, जसले पूर्वीय ज्ञान प्रणालीलाई समृद्ध बनाएको छ । विशेषगरी आचार्य...

द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरू बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान

काठमाडौँ, १८ वैशाख । बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ मोक्तानले वर्तमान विश्वमा बढ्दो उपभोक्तावाद र मानसिक तनावका बिच गौतम बुद्धको ‘मध्यम मार्ग’ झन् सान्दर्भिक बन्दै गएको बताउनुभएको छ ।

बुद्ध जयन्तीको सन्दर्भमा नेपाल न्युज बैङ्कसँगको विशेष संवादमा उहाँले बुद्ध दर्शनको दार्शनिक, सामाजिक–राजनीतिक र विश्वव्यापी प्रभावबारे विस्तृत धारणा राख्नुभएको हो । मोक्तानका अनुसार बुद्ध दर्शनलाई केवल धार्मिक दृष्टिले मात्र नभइ गहिरो दार्शनिक प्रणालीका रूपमा बुझ्न आवश्यक छ । उहाँका अनुसार दर्शनशास्त्रभित्र ‘तत्वमीमांसा’ (अस्तित्वको विज्ञान) नामक शाखाले ब्रह्माण्डको अन्तिम सत्यको खोजी गर्छ ।

वैदिक परम्परामा यसलाई ‘ब्रह्म’ भनिएपनि बौद्ध परम्पराले चेतनाको अन्तिम अवस्थालाई ‘बुद्ध’ को रूपमा व्याख्या गरेको उहाँले बताउनुभयो । “सम्यक सम्बुद्ध भनेको सम्पूर्ण सृष्टिको अन्तिम सत्यमा पुगेको अवस्था हो, र सिद्धार्थ गौतम त्यसको एक उदाहरण हुन,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार एसियामा हजारौँ वर्षदेखि वैदिक, बौद्ध र भौतिकवादी तीन प्रमुख विचारधाराबिच दार्शनिक बहस हुँदै आएको छ, जसले पूर्वीय ज्ञान प्रणालीलाई समृद्ध बनाएको छ । विशेषगरी आचार्य नागार्जुन र आदि शंकराचार्य जस्ता चिन्तकहरूले यी बहसलाई उचाइ दिएका थिए ।

मोक्तानले बुद्ध दर्शनको सामाजिक–राजनीतिक प्रभावलाई ‘क्रान्तिकारी’ रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार बुद्ध धर्मले समाजमा विद्यमान उच्च–निम्न विभाजनलाई चुनौती दियो र समानताको अवधारणा स्थापित गर्‍यो । “बुद्धिजमले सामाजिक विभाजनलाई तोडेर राजनीतिक रूपमा पनि ठुलो परिवर्तन ल्यायो । यसले तल्लो वर्गका मानिसलाई पनि सत्तामा पुग्ने अवसर दियो,’ उनले बताए । आर्थिक दृष्टिले पनि बुद्ध धर्मको प्रभाव महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

प्राचीन ‘सिल्क रोड’ व्यापारिक मार्ग बौद्ध व्यापारीहरूद्वारा विस्तार भएको उल्लेख गर्दै उहाँले कला, संस्कृति र व्यापार आदानप्रदानमा बुद्धिजमको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । साथै, नालन्दा विश्वविद्यालय, तक्षशिला जस्ता शैक्षिक केन्द्रहरूको विकासमा पनि बौद्ध परम्पराको योगदान रहेको उहाँले बताउनुभयो ।

विश्वव्यापी रूपमा बुद्ध दर्शनको स्वीकार्यता तीन तह (एकेडेमिक अध्ययन, ध्यान अभ्यास र सांस्कृतिक प्रभाव) मा देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा ‘बौद्ध अध्ययन’ प्रमुख विषयका रूपमा पढाइ हुन्छ भने ध्यान केन्द्रहरूमा बौद्ध विधि व्यापक रूपमा प्रयोग भइरहेका छन् ।

विशेषगरी मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा बुद्ध दर्शनको प्रभाव उल्लेखनीय रहेको मोक्तानको भनाइ छ । उहाँले विपश्यना ध्यान जस्ता अभ्यासहरू विश्वभर लोकप्रिय बन्दै गएको उल्लेख गर्दै सैन्य अधिकारीदेखि वैज्ञानिक समुदायसम्मले यसलाई अपनाइरहेको बताउनुभयो ।

पश्चिम एसियामा बढ्दो द्वन्द्व र अस्थिरताका सन्दर्भमा उहाँले भविष्यमा मानिसहरू शान्ति र मानसिक सन्तुलन खोज्दै बौद्ध दर्शनतर्फ आकर्षित हुने दाबी गर्नुभयो । “द्वन्द्वले थाकेका मानिसहरू अन्ततः शान्तिको खोजी गर्छन् र त्यो खोजीमा बुद्ध दर्शन महत्त्वपूर्ण आधार बन्न सक्छ,” उहाँले भन्नुभयो । उहाँले वर्तमान समाजमा बढ्दो भौतिकवाद र उपभोक्तावादका बिच बुद्धको ‘मध्यम मार्ग’ अत्यन्त सान्दर्भिक रहेको बताउनुभयो । “अत्यधिक भोग वा अत्यधिक त्याग दुवै चरम अवस्था हुन् । मध्यम मार्गले सन्तुलन सिकाउँछ, जुन आजको समाजका लागि अत्यन्त आवश्यक छ,” उहाँले जोड दिनुभयो । उहाँका अनुसार बुद्ध दर्शन केवल आध्यात्मिक अभ्यास मात्र नभइ आधुनिक विश्वका जटिल समस्या समाधान गर्ने व्यवहारिक मार्ग पनि हो ।

आधुनिकीकरणको बहसबीच बुद्ध दर्शनको पुनरागमन
मोक्तानले नेपालको आधुनिकीकरण प्रक्रिया ‘लेफ्ट’ र ‘सेन्टर–लेफ्ट’ विचारधाराबाट प्रभावित भएको बताउनुभयो । उहाँले पछिल्लो ७० वर्षमा विकसित भएको आधुनिकीकरणको मोडलले परम्परागत ज्ञान प्रणालीलाई उपेक्षा गरेको टिप्पणी गर्नुभयो । मोक्तानका अनुसार नेपालको आधुनिकीकरण प्रक्रियामा बिपी कोइराला जस्ता ‘सेन्टर–लेफ्ट’ र पुष्पलाल श्रेष्ठ जस्ता ‘लेफ्ट’ विचारकहरूको प्रभाव प्रमुख रह्यो । साहित्य, कला, संगीत र विश्वविद्यालय शिक्षामार्फत यी विचारधाराहरू समाजमा गहिरोसँग प्रवेश गरेको उहाँले बताउनुभयो ।

“यो प्रक्रियामा हाम्रो प्राचिन ज्ञान, सनातन प्रज्ञा र मौलिक परम्परालाई निषेध गरेर युरोपेली ज्ञान प्रणालीलाई स्थापित गर्ने काम भयो,” उहाँले भन्नुभयो । उहाँका अनुसार यस्तो विकास मोडलले अपेक्षित ‘समृद्धि र सुख’ दिन नसकेको र उल्टै समाजलाई उपभोक्तावाद र लोभतर्फ धकेलेको दाबी गर्नुभयो ।

डिजिटल युगमा ध्यानको सम्भावना
डिजिटल प्रविधिको तीव्र विस्तारसँगै ध्यान अभ्यासको सान्दर्भिकता झन् बढेको मोक्तानको भनाइ छ । उहाँले ध्यानलाई प्राकृतिक (इन्स्टिन्क्टिभ), प्रतिबिम्बात्मक (रिफ्लेक्टिभ) र गहिरो साधनात्मक गरी तीन तहमा व्याख्या गर्नुभयो । उहाँका अनुसार सामान्य स्तरको ध्यान त मानिसमा स्वाभाविक रूपमा भइरहन्छ भने दोस्रो तहको ध्यानका लागि डिजिटल प्लेटफर्म प्रभावकारी माध्यम बन्न सक्छ । “अनलाइन कक्षा, संवाद र प्रविधिले मानिसलाई आत्मचिन्तनतर्फ आकर्षित गर्न सक्छ,” उहाँले भन्नुभयो । साथै विपश्यना ध्यान जस्ता विधिहरू विश्वभर लोकप्रिय बन्दै गएको उल्लेख गर्नुभयो ।

द्वन्द्वबिच शान्तिको सम्भावना
विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र द्वन्द्वका बीच पनि शान्ति सम्भव रहेको मुक्तानको धारणा छ । उहाँले समाजमा द्वन्द्व र सहमति दुवै प्रक्रिया सँगसँगै चल्ने बताउनुभयो । “समाजको स्थायी चरित्र शान्ति हो, द्वन्द्व त अस्थायी अवस्था मात्रै हो,” उहाँले भन्नुभयो ।

कार्ल मार्क्सले उठाएको ‘अन्तर्विरोध’ को अवधारणालाई उल्लेख गर्दै उहाँले समाज परिवर्तनका क्रममा द्वन्द्व देखिएपनि त्यसैभित्र नयाँ ज्ञान र चेतनाको विकास हुने बताउनुभयो । उहाँका अनुसार अहिलेको विश्व ‘संक्रमणकाल’ मा रहेको छ, जहाँ पूरानो ज्ञान प्रणालीको सीमा देखिँदै गएको छ र नयाँ ज्ञान प्रणाली निर्माण हुँदै छ । यस्तो अवस्थामा पूर्वीय दर्शन विशेषतः वैदिक, बौद्ध र जैन परम्पराले पुनः विश्वलाई मार्गदर्शन गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

“मानिस अन्ततः शान्ति, करुणा र सन्तुलन खोज्छ । बुद्ध दर्शनले यही सन्तुलन र मध्यम मार्गको शिक्षा दिन्छ, जुन आजको विश्वका लागि अत्यन्त आवश्यक छ,” मोक्तानले जोड दिनुभयो ।

युवालाई बुद्ध दर्शनसँग जोड्न डिजिटल प्लेटफर्म प्रभावकारी
मोक्तानले नवपुस्तालाई बुद्धको शिक्षा र दर्शनसँग जोड्न डिजिटल प्लेटफर्म सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । हामीसँगको कुराकानीमा उहाँले प्रविधि, शिक्षा र नीतिगत सुधारमार्फत बुद्ध दर्शनलाई नयाँ पुस्तामा विस्तार गर्न सकिने धारणा राख्नुभयो ।

मोक्तानका अनुसार अहिलेको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स, अनलाइन कक्षा र सामाजिक सञ्जालले ज्ञान प्रसारलाई सहज बनाएको छ । “डिजिटल प्लेटफर्ममार्फत ध्यान, दर्शन र आत्मचिन्तनका विषयलाई युवामाझ सजिलै पुर्‍याउन सकिन्छ,” उहाँले भन्नुभयो । साथै विपश्यना ध्यान जस्ता अभ्यासलाई पनि प्रविधिसँग जोडेर लोकप्रिय बनाउन सकिने उहाँले बताउनुभयो ।

उहाँले शिक्षा प्रणालीमा सुधारको आवश्यकता औँल्याउँदै विद्यालय र विश्वविद्यालयस्तरमै बौद्ध दर्शनसम्बन्धी गहिरो अध्ययनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार पश्चिमी देशहरूमा जस्तै संरचित ‘बौद्ध अध्ययन’ कार्यक्रम नेपालमा अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन । “सरकारले लगानी गरेर विश्वविद्यालयमा गुणस्तरीय कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उहाँले सुझाव दिनुभयो ।

मोक्तानले पछिल्लो ७० वर्षको आधुनिकीकरण प्रक्रियामा नेपालले आफ्नै परम्परागत ज्ञान प्रणालीलाई उपेक्षा गरेको टिप्पणी गर्नुभयो । “हाम्रो प्राचिन प्रज्ञा प्रणालीलाई ‘सामन्तवाद’ भन्दै निषेध गरियो, जसले ठुलो बौद्धिक क्षति भयो,” उहाँले भन्नुभयो । अब भने यही ज्ञान प्रणाली २१औँ शताब्दीका लागि आवश्यक ‘विजडम पावर’ भएको उहाँले दाबी गर्नुभयो ।

नेपाललाई ‘बुद्ध जन्मेको देश’ भनेर गर्व गर्नु मात्र पर्याप्त नभएको भन्दै उहाँले व्यवहारमा बुद्धको शिक्षा लागु गर्नुपर्नेमा जोड दिनुभयो । सिद्धार्थ गौतमको शिक्षालाई राज्य सञ्चालन (स्टेटक्राफ्ट) र व्यक्तिगत जीवन (सोलक्राफ्ट) दुवैमा लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।

“हाम्रो ज्ञान प्रणाली केवल सजावटका लागि होइन, यो जीवन र समाज निर्माणको आधार हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार सत्य (सत), चेतना (चित) र आनन्द प्राप्त गर्न बुद्ध दर्शनको सही अभ्यास आवश्यक छ । बुद्ध जयन्तीलाई केवल औपचारिकतामा सीमित नगरी त्यसको सन्देश व्यवहारमा उतार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *