
भविन कार्की
खाँदबारी, १६ वैशाख । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरी क्षेत्रमा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ ।
चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै संकटमा पर्ने देखिएको छ । सङ्खुवासभा,तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने गुफापोरी,सुकेबार क्षेत्रमा पुस्तौँदेखि चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्रको अभाव हुँदा समस्यामा परेका हुन् ।
दशकअघिसम्म गुफापोखरी क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले १०÷१२ वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक भुजुङ शेपाले बताउनुभयो । अधिकांश चरन क्षेत्र सामुदायिक वनअन्तर्गत पर्ने भएकाले त्यहाँ चौँरी चराउन कर तिर्नुपर्ने बाध्यता छ ।
स्थानीय तह तथा सम्बन्धित निकायले चरन क्षेत्र व्यवस्थापन, कर सहुलियत तथा बजार विस्तारमा पहल नगरे परम्परागत व्यवसाय नै संकटमा पर्न किसानले चिन्ता व्यक्त गरे । हाल गुफा, सुके बजार, मंगलबारे आसपास १२ घरधुरीका ७ सयको हाराहारीमा चौँरीगाई पालन गर्दै आएका छन् । –रासस