
प्रमिला कार्की
काठमाडौँ, १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालमा सञ्चालित बालबालिकाको खोप कार्यक्रम विश्वकै प्रशंसित जनस्वास्थ्य कार्यक्रममध्ये एक भएको बताउनुभएको छ ।
विश्व खोप सप्ताह अभियान सुरू भएको सन्दर्भमा नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले नेपालमा ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई निःशुल्क रूपमा नियमित खोप सेवा उपलब्ध गराउँदै आएको छ ।
हाल देशभरका बालबालिकालाई १३–१४ भन्दा बढी संक्रामक रोगविरुद्ध खोप लगाइँदै आएको छ, जसका लागि कम्तीमा आठ पटक स्वास्थ्य संस्थामा पुग्नुपर्ने व्यवस्था गरिएको छ । ती रोगहरूमा क्षयरोग, डिप्थेरिया, टिटानस, हेपाटाइटिस बी, टाइफाइड, रोटाभाइरसलगायतका रोगहरू समावेश छन्, जसलाई खोपमार्फत रोकथाम गर्न सकिन्छ ।
उहाँले भन्नुभयो, “नेपालमा भएका जनस्वास्थ्यका कार्यक्रमहरूमध्ये साउथ इस्ट एसिया विश्वले नै प्रशंसा गर्ने कार्यक्रम बालबालिकाका लागि खोप कार्यक्रम हो । जहाँ ९५ प्रतिशतभन्दा बढी बालबालिकाहरू खोपको कभरेजमा छन् । र, त्यहीमाथि हाम्रो जस्तो मुलुकले पनि लगभग आठ पटक स्वास्थ्य संस्था पुग्नेगरी र त्यही अनुसार १३–१४ भन्दा बढी रोगलाई, जुन संक्रामक रोग हुन्, जुन भ्याक्सिन लगाएर रोक्न सकिन्छ । ती रोगहरूको खोप निःशुल्क रूपमा देशभरका बालबालिकाहरूलाई दिने गरेको छ ।”
डा.बुढाथोकीले नेपालको भौगोलिक कठिनाइ, दुर्गमता र सीमित स्रोतका बाबजुद पनि खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनु विश्व समुदायले समेत प्रशंसा गर्ने विषय भएको बताउनुभयो ।
उहाँले यस सफलतामा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय समुदायको सक्रिय सहभागिता मुख्य कारण रहेको उल्लेख गर्नुभयो । उहाँले वैशाख महिनालाई प्रत्येक वर्ष ‘खोप महिना’का रूपमा सञ्चालन गरिने जानकारी पनि दिनुभयो ।
वैशाख महिनालाई विशेष खोप महिना बनाउनुको कारणबारे उहाँले नयाँ वर्षसँग जोडेर व्याख्या गर्नुभयो । “नयाँ वर्ष भनेको विगतका कमजोरी नदोहोर्याउने र आफ्ना बालबालिकालाई सुरक्षित भविष्य दिने प्रतिबद्धता गर्ने समय पनि हो,” उहाँले भन्नुभयो ।
साथै वैशाखमा अत्यधिक जाडो वा गर्मी नहुने, बसाइँसराइ कम हुने भएकाले नागरिकहरू स्थिर रहने र अभियान सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिले देशभर ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको दायरामा आएको जानकारी गराउनुभयो ।
“प्रायः तपाईंहरूको घरमा पनि महिला स्वास्थ्य स्वयंसेविका पुगेर बालबालिका छन् कि छैनन्, खोप पूरा लगाइएको छ कि छैन भनेर सोधिरहनुभएको हुन्छ । त्यसैका कारण अहिले देशभर ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको दायरामा आएका छन् ।”
उहाँका अनुसार बसाइँसराइ, अभिभावकको व्यस्तता, चाडपर्व, वा अन्य व्यक्तिगत कारणले केही बालबालिका नियमित समयमा खोप लगाउन छुट्न सक्छन् । यस्ता बालबालिकालाई पुनः खोपको दायरामा ल्याउन विशेष अभियान सञ्चालन गर्नुपरेको हो । वैशाख महिनाभर छुटेका सबै बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर छुटेको खोप लगाउन सकिने उनले स्पष्ट पार्नुभयो ।
उहाँले खोप केन्द्रहरू देशभरका दुर्गम र सुगम सबै क्षेत्रमा रणनीतिक रूपमा स्थापना गरिएको बताउनुभयो । डोल्पा, हुम्ला जस्ता हिमाली जिल्लादेखि रौतहटजस्ता तराईका जिल्लासम्म महिला स्वास्थ्य स्वयंसेविकासँग कुन घरमा गर्भवती महिला छन्, कुन घरमा कति उमेरका बालबालिका छन् भन्ने विस्तृत विवरण रहने भएकाले खोप छुट्ने सम्भावना अत्यन्त कम हुने उहाँको भनाइ छ ।
यदि कुनै परिवार विशेष कामले अन्यत्र बसाइँसराइ गरेको वा अस्थायी रूपमा बाहिर गएको भए पनि स्थानीय स्वास्थ्य संस्थालाई जानकारी गराएमा सोही स्थानमा खोप सेवा उपलब्ध गराउन सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो ।
तर, कतिपय अभिभावकले यस्ता जानकारी नदिने कारणले केही बालबालिका खोपबाट वञ्चित हुने अवस्था देखिएको उहाँले स्वीकार गर्नुभयो ।
हालै सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप पनि नियमित खोप कार्यक्रममा समावेश गरेको छ । कक्षा ६ मा अध्ययनरत वा १० वर्ष उमेर पुगेका किशोरीहरूलाई यो खोप नियमित रूपमा उपलब्ध गराउन थालिएको डा.बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँले पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरू पीडित हुने र मृत्यु समेत बढ्दै गएको अवस्थामा यसलाई जनस्वास्थ्य समस्याका रूपमा लिएर सरकार अघि बढेको बताउनुभयो ।
उहाँले विश्वमा नयाँ खोप आएको भन्दै नेपालमा स्वतः लागु नहुने स्पष्ट पार्दै खोप समावेश गर्नुअघि वैज्ञानिक मूल्याङ्कन गरिने जानकारी दिनुभयो ।
नेपालमा खोप सल्लाहकार समिति र प्राविधिक समितिले विश्वका अनुसन्धान, रोगको प्रकृति, नेपालमा त्यसको आवश्यकता र आर्थिक सम्भावनाको विश्लेषण गरेपछि मात्रै सरकारलाई सिफारिस गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रवक्ता बुढाथोकीले खोपको भण्डारण र तापक्रम व्यवस्थापनबारे पनि उनले नागरिकलाई ढुक्क रहन आग्रह गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार हिमाल, पहाड वा तराई—सबै क्षेत्रमा समान स्तरमा खोप भण्डारण गरिने उहाँले बताउनुभयो । खोप ढुवानीका लागि आइसबक्स प्रयोग गरिने र स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा खोप पुर्याएर मात्रै सेवा सञ्चालन गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “खोप भण्डारण गर्नका लागि हामी कहाँ विश्व स्वास्थ्य संगठन र अन्यले बनाएका मापदण्ड छन् । त्यही मापदण्डमै रहेर काम गर्ने हो, त्योभन्दा बाहिर जान पाइँदैन । किनभने नेपाल हो भन्दैमा कम टेम्प्रेचरमा भ्याक्सिन राख्छु भन्न पाइँदैन । चाहे हिमाल, चाहे पहाडमा जानुहोस मापदण्ड एउटै हो । त्यसकारण मापदण्ड पूरा गर्नेगरी व्यवस्थापन महाशाखा, त्यसपछि हरेक प्रदेशमा भएका प्रदेश आपूर्ति केन्द्र, त्यसपछि खोप, त्यसपछि जिल्लामा रहेका जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहमा रहेका र अझ आइसबक्स दिएर त्यसमा खोप राखेर मात्रै लगाउन पठाइन्छ । त्यसकारण भण्डारण र तापक्रमको कुरामा यहाँहरूले चिन्ता नगर्नुस् ।”
यस्तै, उनले विगतको तुलनामा नेपालमा बाल मृत्युदर उल्लेखनीय रूपमा घट्नुमा खोप कार्यक्रमको ठुलो भूमिका रहेको बताउनुभयो । “पहिले बाल मृत्युदर धेरै थियो, अहिले त्यो उल्लेखनीय रूपमा घटेको छ, यसको प्रमुख कारण खोप नै हो,” उहाँले भन्नुभयो ।
उनले आम नागरिकलाई सरकारको निःशुल्क खोप कार्यक्रममा सक्रिय सहभागी बन्न आग्रह गर्दै सबै बालबालिकाले शतप्रतिशत खोप पाएको अवस्था सिर्जना गर्न सञ्चारमाध्यम, सामाजिक अभियन्ता र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अझ महत्त्वपूर्ण हुने बताउनुभयो ।
“भोलिको दिनमा क्षयरोग, डिप्थेरिया, हेपाटाइटिस बीजस्ता रोग देखिन छाडन्, सबै बालबालिका स्वस्थ बनुन् भन्ने हाम्रो लक्ष्य हो । खोपले जोगिने रोगका कारण कसैले ज्यान गुमाउन नपरोस्, यही उद्देश्यले सरकार निरन्तर काम गरिरहेको छ,” उहाँले भन्नुभयो । –नेपाल न्युज बैङ्क