सङ्घीय संसद्‌को मर्यादाविपरीत रास्वपा सांसदहरू: शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’सम्मको चेतावनी

आकाङ्क्षा धामी काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर, पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् । रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा प्रोटोकलको विषय उठाउँदै प्रधानाध्यापकलाई सार्वजनिक रूपमा झपारिएको आरोप छ भने अर्कोतर्फ न्यायको माग गर्दै धर्नामा रहेका बेला प्रहरी प्रमुखलाई लक्षित गर्दै ‘घिसारेर लैजाने’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिइएको भिडिओ सार्वजनिक भएपछि जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ । ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकले गेटसम्म आएर स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउनु केवल व्यक्तिगत व्यवहारको विषय मात्र होइन, यो राजनीतिक संस्कारको प्रश्न हो । जनप्रतिनिधि हुनु भनेको सेवा भाव र नम्रता देखाउनु हो, न कि आफ्नो पद र विगतको ओहदाको धाक देखाउँदै शिक्षकजस्ता सम्मानित पेशाप्रति अपमानजनक व्यवहार गर्नु । २९ वर्षसम्म विशिष्ट श्रेणीमा काम गरेको...

सङ्घीय संसद्‌को मर्यादाविपरीत रास्वपा सांसदहरू: शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’सम्मको चेतावनी
आकाङ्क्षा धामी

काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर, पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।

रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा प्रोटोकलको विषय उठाउँदै प्रधानाध्यापकलाई सार्वजनिक रूपमा झपारिएको आरोप छ भने अर्कोतर्फ न्यायको माग गर्दै धर्नामा रहेका बेला प्रहरी प्रमुखलाई लक्षित गर्दै ‘घिसारेर लैजाने’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिइएको भिडिओ सार्वजनिक भएपछि जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ ।

ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकले गेटसम्म आएर स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउनु केवल व्यक्तिगत व्यवहारको विषय मात्र होइन, यो राजनीतिक संस्कारको प्रश्न हो । जनप्रतिनिधि हुनु भनेको सेवा भाव र नम्रता देखाउनु हो, न कि आफ्नो पद र विगतको ओहदाको धाक देखाउँदै शिक्षकजस्ता सम्मानित पेशाप्रति अपमानजनक व्यवहार गर्नु ।

२९ वर्षसम्म विशिष्ट श्रेणीमा काम गरेको अनुभव उल्लेख गर्दै ‘प्रोटोकल’को माग गर्नु लोकतान्त्रिक मूल्य र सामान्य नागरिकको मर्यादाविपरीत देखिन्छ । यस्तो व्यवहारले रास्वपाले बोकेको ‘नयाँ राजनीति’ को नारालाई कमजोर बनाएको छ ।

अर्कोतर्फ, सांसद खगेन्द्र सुनारसहितले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन् । प्रहरी हिरासतभित्र मृत्यु भएको घटनापछि न्यायको माग गर्दै धर्ना दिनु स्वाभाविक र आवश्यक लोकतान्त्रिक अभ्यास हो । पीडितका लागि आवाज उठाउनु जनप्रतिनिधिको कर्तव्य नै हो । तर, यही सन्दर्भमा रास्वपाका सांसद खगेन्द्र सुनारले प्रयोग गरेको अभिव्यक्ति भने गम्भीर विवादको विषय बनेको छ ।

जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बसिरहेका क्रममा उहाँले सार्वजनिक रूपमा प्रहरी प्रमुख (एसपी)लाई लक्षित गर्दै ‘कानुनले काम नगरे यो एसपीलाई घिसारेर काठमाडौ लैजाउँछु’ भन्ने चेतावनीपूर्ण अभिव्यक्ति दिनुभएको छ । यस्तो अभिव्यक्ति, त्यो पनि एक निर्वाचित सांसदबाट आउनु, कानुनी शासन र संस्थागत मर्यादामाथि प्रश्न उठाउने खालको देखिन्छ ।

न्यायको माग गर्दै आन्दोलन गर्नु र राज्य संयन्त्रलाई जिम्मेवार बनाउनु लोकतन्त्रको मूल आधार हो । तर, त्यस क्रममा धम्कीपूर्ण र उत्तेजक भाषा प्रयोग गर्नुले आन्दोलनको नैतिक बल कमजोर पार्ने मात्र होइन, विधिको शासनमाथि अविश्वास झल्काउने सन्देश पनि दिन्छ । कानुनभन्दा माथि कोही छैन भन्ने सिद्धान्तलाई बलियो बनाउनुपर्ने ठाउँमा ‘घिसारेर लैजाने’ जस्ता शब्द प्रयोग गर्नु, जनप्रतिनिधिको भूमिकासँग मेल खाने व्यवहार होइन ।

उहाँले भन्नुभएको छ, “एसपीको जिब्रो कापेको छ, हात कापेको छ । मैले जिल्ला प्रशासनको गेटमा उभिएर भन्दै छु कानुनले काम गर्छ गरेन भने यो एसपीलाई घिसारेर लग्छु यहाँबाट ।”

रास्वपाले चुनावी अभियानका क्रममा ‘कानुनी शासन’, ‘जवाफदेहिता’ र ‘सभ्य राजनीतिक संस्कार’ को वकालत गरेको थियो । तर, पछिल्ला यस्ता घटनाहरूले ती प्रतिबद्धताहरू व्यवहारमा कत्तिको लागु भएका छन् भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।

एकातर्फ विद्यालयमा सामान्य प्रोटोकलको विषयमा आक्रोश देखाउने, अर्कोतर्फ न्यायको मागकै नाममा धम्कीपूर्ण अभिव्यक्ति दिने यी दुवै घटनाले पार्टीका प्रतिनिधिहरूको आचरणमा असन्तुलन देखाएको छ ।

यदि साँच्चै वैकल्पिक राजनीति स्थापित गर्ने हो भने, शब्द र व्यवहार दुवैमा संयम, जिम्मेवारी र विधिप्रतिको सम्मान अनिवार्य हुन्छ । अन्यथा, पुरानै शैलीको पुनरावृत्ति हुँदै गएको आरोपबाट रास्वपा उम्कन कठिन हुनेछ ।

रास्वपाले यदि साँच्चिकै आफूलाई पुराना दलहरूको विकल्पका रूपमा स्थापित गर्न चाहन्छ भने, उसले आफ्ना नेता तथा सांसदहरूको आचरणमा कडाइका साथ एकरूपता ल्याउन आवश्यक छ । –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *