
काठमाडौँ, २१ चैत । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताउनुभएको छ । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेता कोइरालाले १८ वर्षको अवधिमा संस्थाले सोचेजति प्रगति गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,“संस्थाले १८ वर्षमा जति सोचेको थियो, त्यति काम गर्न सकेको छैन । अब एक–अर्कालाई दोष लगाएर बस्ने समय होइन, कसैलाई आरोप नलगाई संस्थालाई अगाडि बढाउनु पर्छ ।”
डा.कोइरालाले संस्था चल्दैन भन्नुभन्दा पनि यसलाई कसरी राम्रो बनाउने भन्नेतर्फ ध्यान दिन कार्यदललाई आग्रह गर्नुभयो । “कसले के गर्यो वा गरेन भनेर अल्झिनु हुँदैन । अबको बाटो कसरी राम्रो बनाउने भन्ने नै हो,” उहाँले थप्नुभयो ।
यस्तै, अस्पतालका पूर्वअध्यक्ष डा.केदार नर्सिङ केसीले संस्थालाई विचार र राजनीतिको चस्माबाट मात्र नहेरी सामाजिक उत्तरदायित्व र मनोबलका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो राजनीतिक गर्ने ठाउँ होइन, सामाजिक काम गर्ने संस्था हो । सामाजिक मनोबलका साथ काम गर्ने हो भने संस्थालाई अगाडि बढाउन सकिन्छ, आत्तिनुपर्ने अवस्था छैन ।”
डा.केसीले संस्थाका सबै सदस्यहरूलाई विगतका तिता–मिठा अनुभव बिर्सिएर संगठित हुन आग्रह गर्नुभयो । संस्था सुधार्न छानबिन समितिभन्दा पनि सफा नियत आवश्यक रहेको उल्लेख गर्दै उहाँले तीन जना मात्रै पनि एकै ठाउँमा उभिए संस्था राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । आफू अन्य संस्थामा रहे पनि वा छाडे पनि यस अस्पतालमा सधैँ आबद्ध भइरहने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।