
काठमाडौँ, २० चैत । कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहीबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भइ हाल सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।
प्रहरीका अनुसार, सहनी बागमती प्रदेश नम्बर ०२–०२२ प २५६७ नम्बरको मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सडक खण्डमा फेला परेका थिए । उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनी ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिनुभएको थियो ।
मोटरसाइकलसहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सबै सवारी साधनधनीलाई सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक र सुरक्षा साइरन जडान गर्न र एकान्त ठाउँमा सवारी राख्न नहुन अनुरोध गर्नुभएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ र नेपाल प्रहरीको हटलाइन १०० मा विवरणसहित फोन गर्ने वा नजिकैको प्रहरी कार्यालयमा निवेदन दिने व्यवस्था रहेको छ ।