
सुनसरी, ५ चैत । लोहोरुङ फुटबल क्लब सङ्खुवासभा सुनसरीको इटहरी उपमहानगरपालिकामा जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण स्व कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जनता बहुमुखी क्याम्पसको खेलमैदानमा बुधबार भएको खेलमा केराबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै लोहोरुङ क्लब फाइनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफको ३४औँ मिनेटमा लोहोरुङका विवेक राईले गरेको एक मात्र गोलले टोलीलाई फाइनलको यात्रामा प्रवेश गराएको थियो ।
खेलमा लोहोरुङका विनोद राई ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार ५०० रूपैयाँसहित मेडल प्राप्त गरेको ‘द योङ ब्रदर्स क्लब’का सचिव विज्ञान राईले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत बिहीबार आयोजक टोली द योङ ब्रदर्स क्लब, इटहरी र बसाहा क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा हुने विजेतासँग उपाधिका लागि लोहोरुङ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा पहिलो हुनेले चार लाख चार हजार रूपैयाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले दुई लाख दुई हजार २०० रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा प्रतियोगिता भइरहेको हो ।