नयाँ पुस्ताप्रति मतदाता विश्वस्त छन्, त्यसैले तेह्रथुमको लिड गर्दैछु : सन्तोष सुब्बा [भिडिओ]

काठमाडौँ, १९ माघ । नेपाली काङ्ग्रेसका नेता एवम आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तेह्रथुमबाट प्रत्यक्षतर्फका उम्मेदवार सन्तोष सुब्बाले राजनीति ठिकठाक ढङ्गले नचलेका कारण हामीजस्ता युवाहरुको खोजी भएको दाबी गर्नुभएको छ । उहाँले देश बदल्ने अभिभारा अब युवाहरुको काँधमा आएको पनि बताउनुभयो । नेपाल न्युज बैङ्कसँगको विशेष सम्वादमा उहाँले जनताका आवश्यक्ताहरु परिपूर्ति गर्न नसक्दा असन्तुष्टि बढेको बताउनुभयो । “मुलुकको राजनीति ठिक ढङ्गले चलेको छैन भन्ने कुरा जेनजी आन्दोलनबाट स्पष्ट हुन्छ । राजनीतिलाई ठिकठाक चलाउने भए नयाँ पुस्ता आउनुपर्छ भन्ने जबरजस्त माग मुलुकभर छ । राजनीतिमा भ्रष्टाचार व्यापक भएको, विकृति र विसङ्गती बढेकाले त्यसलाई ठिकठाक बनाउनुपर्नेछ । नागरिकले राज्य छ भन्ने प्रत्याभूत दिनका लागि राजनीतिमा नयाँ पुस्ता आउनु जरुरी छ,” उहाँले भन्नुभयो । प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिको जिम्मेवारी नीति वा कानुन बनाउने भए पनि जनताको अपेक्षा विकास र समृद्धि रहेको औँल्याउँदै उहाँले नागरिकका प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुमा काम गर्न आफू सधैँ तयार रहेको बताउनुभयो । “प्रतिनिधि सभाको काम न्याय सम्पादन गर्ने...

नयाँ पुस्ताप्रति मतदाता विश्वस्त छन्, त्यसैले तेह्रथुमको लिड गर्दैछु : सन्तोष सुब्बा [भिडिओ]

काठमाडौँ, १९ माघ । नेपाली काङ्ग्रेसका नेता एवम आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तेह्रथुमबाट प्रत्यक्षतर्फका उम्मेदवार सन्तोष सुब्बाले राजनीति ठिकठाक ढङ्गले नचलेका कारण हामीजस्ता युवाहरुको खोजी भएको दाबी गर्नुभएको छ । उहाँले देश बदल्ने अभिभारा अब युवाहरुको काँधमा आएको पनि बताउनुभयो ।

नेपाल न्युज बैङ्कसँगको विशेष सम्वादमा उहाँले जनताका आवश्यक्ताहरु परिपूर्ति गर्न नसक्दा असन्तुष्टि बढेको बताउनुभयो । “मुलुकको राजनीति ठिक ढङ्गले चलेको छैन भन्ने कुरा जेनजी आन्दोलनबाट स्पष्ट हुन्छ । राजनीतिलाई ठिकठाक चलाउने भए नयाँ पुस्ता आउनुपर्छ भन्ने जबरजस्त माग मुलुकभर छ । राजनीतिमा भ्रष्टाचार व्यापक भएको, विकृति र विसङ्गती बढेकाले त्यसलाई ठिकठाक बनाउनुपर्नेछ । नागरिकले राज्य छ भन्ने प्रत्याभूत दिनका लागि राजनीतिमा नयाँ पुस्ता आउनु जरुरी छ,” उहाँले भन्नुभयो ।

प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिको जिम्मेवारी नीति वा कानुन बनाउने भए पनि जनताको अपेक्षा विकास र समृद्धि रहेको औँल्याउँदै उहाँले नागरिकका प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुमा काम गर्न आफू सधैँ तयार रहेको बताउनुभयो ।

“प्रतिनिधि सभाको काम न्याय सम्पादन गर्ने वा कानुन निर्माण गर्ने हो । तर, त्यतिले मात्र पुग्छ जस्तो लाग्दैन । किनभने मान्छेलाई जीवन गुजारा गर्ने वा प्रत्यक्ष सरोकार राख्ने वा विकास निर्माणको सवाल छुटाउन सकिँदैन । नागरिकलाई प्रत्यक्ष असर वा आवश्यकता पर्ने कुराहरुको परिपूर्ति त्यतिकै अपरिहार्य छ,” उहाँले भन्नुभयो ।

पर्यटन र कृषिमा जोड
तेह्रथुममा विकासका कामहरु प्रशस्त भए पनि तुलनात्मक रुपमा कमी भएको भन्दै उहाँले पर्यटन र कृषि क्षेत्रमा प्रशस्त काम गर्नुपर्ने औँल्याउनुभयो ।

“कृषि र पर्यटनका पूर्वाधारहरु बन्न सकेका छैनन् । बहुदलीय व्यवस्था आइसकेपछि पनि विगतमा निर्वाचित भएका वा नागरिकले जिताएर पठाएका दलहरुले काम गर्न सकेनन् । म जुन पार्टीबाट उम्मेदवार भएको छु, त्यो पार्टीले दुई पटक मात्रै जित्यो । बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्र आइसकेपछि एक पटक ०६४ सालमा काङ्ग्रेसले जित्यो । काङ्ग्रेस सत्तामा वा सरकारमा धेरै समय सामेल हुन पाएन । जिल्लाका लागि त्यो दुर्भाग्य हो । ०७९ को निर्वाचनमा केन्द्रमा विजयी भयौँ तर प्रदेशमा झिनो मतले म आफू पराजित भए । काङ्ग्रेसको प्रतिनिधित्व नहुँदा कतिपय योजनाहरु सम्बन्धित ठाउँमा पुर्याउन सकेनौँ,” उहाँले अगाडि भन्नुभयो, “जितेर गएका जनप्रतिनिधिले पनि कृषि क्षेत्रका लागि भरपर्दो अजेन्डाहरु लैजान सक्नुभएको छैन । कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नु पर्ने आवश्यकता छ ।”

बसाइँसराइका कारण गाउँ खाली भइसकेकाले मुलुक जटिल अवस्थामा पुगेको उहाँले धारणा राख्नुभयो। रोजगारी वा आत्मनिर्भरको बलियो आधार कृषि क्षेत्र भए पनि त्यसमा पर्याप्त लगानी आवश्यक भएको बताउनुभयो ।

“मेरो जिल्लाको कुरा गर्नुहुन्छ भने पहिलो प्राथमिकता कृषि हो, दोस्रो पर्यटनका लागि काम गर्नुपर्ने छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने प्रचुर सम्भावना बोकेको सुन्दर ठाउँ भएकाले त्यसमा काम गर्नुपर्ने आवश्यक्ता छ । हामीले विगतमा भाषण र घोषणा पत्रमै सिमित गरायौँ । हामी नयाँ पुस्तासँग सपना र उमेर छ । अनुशासन पनि छ । सोही अनुसार हामीले तयारी गर्नुपर्ने छ । जिल्लाको विकास गर्ने दृढताका साथ आएको छु,” उहाँले भन्नुभयो ।

राजनीतिमा अनुशासन र जवाफदेहितामा ध्यान दिनुपर्नेमा जोड दिँदै सुब्बाले आफूले व्यवस्थित ढङ्गले योजना अगाडि बढाएर टुङ्गोमा पुर्‍याउने र गाउँमै बसौँ बसौँ लाग्नेगरी काम गर्ने धारणा राख्नुभयो ।

जेनजी आन्दोलनको सम्मान
भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा उठेका मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बताएका सुब्बाले नराम्रा पाटाहरुलाई बिर्सिएर नयाँ मुद्दाहरुलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । “मुलुकलाई नै आक्रान्त हुनेगरि भएको जेनजी आन्दोलनले दुईवटा सन्देश दिएको छ । नराम्रो र राम्रो दुवै पाटो छ । राजनीतिक फोहोरी खेल भनेर भनिन्छ र त्यसकै असर हो पनि भनिन्छ । तर, राजनीतिलाई सही तरिकाले सदुपयोग गर्दा यसले नयाँ बाटो समाउन सक्छ । त्यसैले नयाँ पुस्ताले मुलुकको वागडोर सम्हाल्ने प्रयास गर्नुपर्छ । आन्दोलनको जबरजस्त सन्देशपनि त्यही हो । किनभने तत्कालीन राज्यसत्ता ढाल्ने गरीको त्यो आन्दोलनको जग भनेको अहिलेको निर्वाचन हो । त्यसलाई भुल्नु हुँदैन,” उहाँले भन्नुभयो ।

विचारले नयाँ र पुरानो दल भन्दैन
यतिबेला मुलुकमा नयाँ र पुरानो दलबिचको अन्तर एवम् गुण–दोष छुट्टाउने गरिएकोप्रति उहाँले पुराना दलहरु सच्चिएर आउनुपर्ने धारणा राख्नुभयो । “हालको अवस्थामा पुराना दलहरु सच्चिएर आए भने सबैभन्दा बलियो हुनेछन् । खासमा दलहरुको विचार प्रधान कुरा हो । राजनीति ठिक ढङ्गले नचल्दा अस्थिरता आएको हो । सरकार छ महिनामा ढल्छ नौ महिनामा ढल्छ १३ महिनामा ढल्छ भन्नेमा नागरिक छन् । मन्त्री र प्रधानमन्त्री आएकै थाहा पाउने अवस्था छैन । यस्तो वेथितिमा देश चल्नु हुँदैन । ऐतिहासिक योगदान र प्रष्ट विचार भएका दलहरु सुध्रिएर आउने र प्रतिबद्धता जाहेर गरेर अघि बढेभने पुनः स्थापित हुनेछन् । अग्रगामी सोच राखेका पुस्ताले परिणाम दिन पनि सक्नेछन्,” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली काङ्ग्रेस जनतामाझ जाँदा सुधारिएको वा बदलिएको सन्देश लिएर जानुपर्ने बताउँदै विशेष महाधिवेशबाट स्पष्ट सन्देश गइसकेको बताउनुभयो । हाम्रो संरचना नै फेल छ भनेर विशेष महाधिवेशनको अपिल गर्यौँ । महाधिवेशनबाट नयाँ नेतृत्वका साथ अगाडि बढेका छौँ । पार्टीलाई ठिकठाक पारेर अब हामी जनता माझ मत माग्न जाँदा फरक नपर्नेगरी अगाडि बढेका छौँ । पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्ता उत्साहित भएर आएका छौँ । जसका कारण आम जनतामा उत्साह जागेको छ । विगतबाट शिक्षा लिँदै मुलुक ठिक ढङ्गले चलाउनुपर्छ भन्नेगरी आएका छौँ,” उहाँले भन्नुभयो ।

काङ्ग्रेस र सांसदको भूमिका
सामाजिक सञ्जाल अधिकतम दुरुपयोग भएकाले मिथ्थालाई ख्याल नगरी आधिकारिक सूचना मात्र ग्रहण गर्नुपर्ने जनाउँदै उहाँले जिल्ला जिल्लामा काङ्ग्रेसप्रति सकरात्मक सन्देश फैलाउनुपर्ने उहाँको भनाइ छ । “तेह्रथुमको सन्दर्भमा कुरा गर्दा नयाँ पुस्तालाई लिड गर्न सक्छु भनेर नै मैले उम्मेदवारी दिएको हुँ । काङ्ग्रेस एक स्वर्णिम इतिहास बोकेको पार्टी भएकाले मुलुकको जटिल परिस्थितिबाट निकास दिनका लागि काङ्ग्रेसले नै नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ,” उहाँले अगाडि भन्नुभयो ।

तत्कालीन मन्त्री सीता गुरुङले पनि जिल्लाका लागि उल्लेख्य बजेट भित्राएर पूर्वाधारका क्षेत्रमा रचनात्मक काम गर्नुभएको उल्लेख गर्दै नेता सुब्बाले गुरुङले गर्नुभएको कामलाई निरन्तरतामा दिन आफू तयार रहेको बताउनुभयो ।

“संघीय सांसदले ऐन वा नीति मात्र बनाउनुपर्छ भन्ने कुरामा मेरो विमती छ । जिल्लाको समग्र विकासमा अहम् भूमिका निर्वाह गर्नसक्नुपर्छ । सांसदले गर्ने भनेको सबैखाले काम हो । नीति पनि बनाउँछ अप्ठ्यारो अवस्थामा जनताका कुराहरुलाई चासोका साथ संसदमा उठाउछ पनि । विकास निर्माणका कामको नेतृत्व पनि सासदले गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

संस्कार सिक्दै राजनीतिमा
किशोर अवस्थामा राजनीतिमा प्रवेश गरेको दाबी गरेका नेता सुब्बाले ०४६ सालको जनआन्दोलनपछि विराटनगरबाट राजनीतिक यात्रा प्रारम्भ गरेको सुनाउनुभयो ।

“०४६ साल पछाडि अध्ययनका लागि तेह्रथुमबाट विराटनगर झरेको हुँ । गायत्री संस्कृत विद्यालयदेखि आदर्श उच्च माध्यमिक विद्यालय हुँदै महेन्द्र मोरङ क्याम्पससम्म अध्ययन गरिसक्दा राजनीतिका धेरै कुराहरु सिक्ने मौका पाए । ०५२ मा महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दा विराटनर राजनीतिको केन्द्र नै थियो । महेन्द्र मोरङ राजनीतिको थलो थियो । त्यहाँबाट धेरै नेताहरु राष्ट्रिय नेता बन्नुभएको छ । नजिकै रहेको कोइराला निवास जसले यो देश बनाउनका लागि ठुलो योगदान गरेको छ । त्यहाँबाट हामीले राजनीतिक संस्कार सिक्ने मौका पायौँ । मैले कोइराला निवासबाट धेरै कुरा सिक्ने मौका पाएँ । शैलजा आचार्यदेखि कोइराला परिवारका व्यक्तित्वहरुबाट निष्ठा र अनुशासनसहितको राजनीति सिक्ने मौका पाए । त्यसैबाट प्रभावित भएर नेविसंघको सक्रिय राजनीतिमा आएको हुँ,” आफ्नो राजनीति यात्राको क्षण सम्झिदै भन्नुभयो,“पछि जिल्ला फर्किएपछि सामाजिक काममा पनि सक्रिय भए । संस्थानै स्थापना गरेर त्यसको नेतृत्व गर्दै गाउँमा धेरै सेवा गर्ने मौका मिल्यो । सोहीबेला काङ्ग्रेसका शीर्ष नेताहरुले म प्रति दृष्टि पुर्‍याउनुभएको रहेछ । पछि उहाँहरुकै हौसलाबाट पार्टीको सक्रिय राजनीतिमा आएको हुँ ।”

०६२/६३ सालको जन आन्दोलन पछाडि तरुण दलको तदर्थ समितिको नेतृत्व गरेका सुब्बाले करिब सात वर्ष तरुण दलकै नेतृत्व गरेर पछि पार्टीको जिल्ला कोषाध्यक्षदेखि सचिव समेत बनेर पार्टीमा सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । ०७९ सालमा प्रदेश सांसदमा झिनो मतले पराजित हुनुभएका उहाँले जिल्लाबासीको समस्या र पीडा नजिकबाट बुझेको दाबी समेत गर्नुभयो ।

स्थायित्वका लागि मतदान
चुनावी मैदानमा होमिएका उम्मेदवार सुब्बाले राजनीतिक स्थायित्वका लागि नेपाली काङ्ग्रेसलाई मतदान गर्न आग्रह पनि गर्नुभयो । “निर्वाचनमा मतदाताको मत अमूल्य हुन्छ । यसले भविष्य निर्माण गर्छ । भविष्य निर्माण भनेको मुलुकको मात्रै होइन, मतदाताको नीजि जीवनको पनि भविष्य निर्धारण गर्ने माध्यम हो । त्यसैले राजनीतिक स्थिरिताका लागि नेपाली काङ्ग्रेसलाई मत दिनु अनुरोध गर्दछु,” उहाँले अगाडि भन्नुभयो, “विशेष महाधिवेशनबाट काङ्ग्रेस बदलिएर आएको छ । त्यसैले बहुमत दिन सबैमा अनुरोध गर्दछु । नयाँ राजनीतिक दल होइन राजनीतिमा नयाँ पुस्ताको वर्चश्व भएको छ । त्यसका लागि म प्रतिनिधि पात्र हुँ । अस्थिर राजनीतिलाई स्थिरतामा ल्याउनको लागि पनि नयाँ पुस्तालाई मत दिनको लागि म आह्वान गर्छु ।” –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *