२७ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले गत जेठमा भएको महिला टी-२० विश्वकपको एसिया रिजनल छनोट पार गरेर इतिहास रचेको थियो । महिला क्रिकेट इतिहासमै एसिया छनोटभन्दा अगाडिको यात्रा तय गर्न नसकेको अवस्थाबाट नेपालले ग्लोबल छनोटमा स्थान बनाएर खुसीको माहोल सिर्जना गरेको थियो ।
अनुभवी खेलाडी रुबिना श्रेत्री र इन्दु बर्मासहित युवा खेलाडीहरूको समिश्रण रहेको उक्त टिमले हासिल गरेको त्यस उपलब्धिबाट नेपालका लागि अर्को नयाँ इतिहास बनाउने अवसर सिर्जना भएसँगै अझै बलिया टिमसँग खेल्ने चुनौती समेत थपिएको थियो ।
अघिल्लोपटक एसिया छनोट गुमाएकी सबैभन्दा सिनियर खेलाडी सीता राना मगर ग्लोबल छनोटका लागि टिममा फर्किएकी छन् । त्यसले टिममा थप ऊर्जा दिनेछ भने युवा खेलाडीले गरिरहेको प्रदर्शन अनि घरेलु मैदानको साथले महिला टोली एउटा अर्को इतिहास बनाउने यात्रामा हुनेछ ।
यसअघि यू-१९ महिला टिमले विश्वकप खेलिसकेको अवस्थामा सिनियर टोलीलाई पनि त्यही उपलब्धि हासिल गर्ने एक किसिमको दबाब पनि थपिनेछ । उक्त विश्वकपमा नेपालको नेतृत्व गरेकी पूजा महतो सिनियर टिमबाट पनि विश्वकप खेल्ने पथमा सँगै छन् ।
आगामी सातादेखि सुरु हुने ग्लोबल छनोट महिला टी-२० विश्वकप खेल्ने अन्तिम खुड्किलोका रूपमा छ र यहाँबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष ४ टिमले महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ ।
प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपालको १५ सदस्यीय अन्तिम टोली पनि घोषणा भइसकेको छ ।
पहिलोपटक एसिया चरणको छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक विश्वकप खेल्ने लक्ष्यमा छ । तर यो यात्रा त्यति सहज भने हुने छैन ।
नेपालले समूह चरणमा आफुभन्दा माथिल्लो वरियतामा रहेका टोलीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तीमध्ये केही टोलीले विश्वकप पनि खेलिसकेका छन् ।
नेपाली टोलीको अबको मुख्य लक्ष्य विश्वकप खेल्ने नै हुने छ । यसका लागि नेपाली टोलीले धेरै समय अगाडि देखि नै तयारी गरेको छ ।
कप्तान इन्दु बर्माले विपक्षी जुनसुकै प्रतियोगितामा पनि बलियो नै हुने र खेलका क्रममा राम्रो प्रदर्शन गर्ने टोलीकै जित निश्चित हुने बताएकी छन् । ‘विपक्षी टिमहरू भनेको राम्रो नै हुन्छन्, हामीले खेल हुने दिनमा कस्तो प्रदर्शन गर्छौं भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । आफ्नो तर्फबाट बेस्ट दिनुपर्छ’ उनले भनेकी छन् ।