प्राधिकरण सुरक्षित विद्युत् प्रवाहमा लाग्नुपर्छ : ऊर्जामन्त्री खड्का

प्राधिकरण सुरक्षित विद्युत् प्रवाहमा लाग्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, १ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सुरक्षित विद्युत् प्रवाहमा लाग्नुपर्ने बताउनुभएको छ ।

प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुरक्षित विद्युत् प्रवाह गर्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै यसका लागि गम्भीर बन्नुपर्ने बताउनुभएको हो । मन्त्री खड्काले भन्नुभयो,“सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाह आजको आवश्यकता हो, यसलाई कार्यान्वयन गर्न विद्युत् प्राधिकरण लाग्नुपर्छ ।”

उहाँले सेवा प्रवाहको अग्रपङ्क्तिमा रहेका व्यक्तिले समाजप्रति उत्तरदायित्व बोध गर्दै नागरिकलाई आशा जगाउने काममा लाग्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले प्राधिकरणलाई अगाडि बढाउन ज्यालादारी कर्मचारीको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

सरकारले ऊर्जा विकासका लागि दश वर्षे लक्ष्य लिएको बताउँदै उहाँले यसलाई पूरा गर्न प्राधिकरण र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । “विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराइसकेका छौँ । अब चाँडै नै विद्युत् बिक्रीमा पनि निजी क्षेत्रलाई आबद्ध गराउने छौँ”, मन्त्री खड्काले भन्नुभयो,“सुरक्षित विद्युत् प्रवाहलाई ध्यानमा राखेर ठुला जलाशययुक्त आयोजनालाई सरकारले अगाडि बढाउन खोजेको छ । यसमा सरकार र निजी क्षेत्रबीच सहकार्य अपेक्षित छ ।”

उहाँले दुई ठुला दल मिलेर बनेको वर्तमान सरकारले आर्थिक विकासको बाधकका रूपमा रहेका ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढिरहेको बताउनुभयो । मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैको हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई बिनाधितो जलविद्युत्‌को सेयर दिएर उनीहरूको आर्थिक अवस्था उकास्न लागेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले सबै नेपालीको घरमा विद्युत्‌को पहुँच पुर्‍याउने गरी प्राधिकरणले काम गर्नुपर्ने बताउनुभयो । उहाँले ऊर्जा मिश्रणको रणनीतिलाई नेपालले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले नागरिकलाई किफायती, भरपर्दो र गुणस्तरीय विद्युत् प्रदान गर्न प्राधिकरण लाग्नुपर्ने बताउनुभयो । प्रसारण र वितरणको संयन्त्र कमजोर हुँदा नागरिकले भरपर्दो बिजुली प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईप्पान( नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणकै कारण सरकारले लिएको ऊर्जा विकासको लक्ष्य पूरा हुन नसक्ने भन्दै आवश्यक सहजीकरणका लागि आग्रह गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्राधिकरणले ठुला जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई व्यापकता दिएको बताउनुभयो । उहाँले आगामी वर्ष काठमाडौँ उपत्यकाका चार लाख घरसहित देशभर स्मार्ट मिटर जडान प्रारम्भ गरिने उल्लेख गर्नुभयो ।

प्राधिकरणका नायब कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आमउपभोक्तलाई भरपर्दो र गुणस्तरीय विद्युत् पुर्‍याउन प्राधिकरण लाग्ने बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट काम गर्ने कार्यालयलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *