ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

ताप्लेजुङ, २६ साउन । चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वाटर फाइलनमा भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो । खेलको १०औँ मिनेटमा चर्च ब्वाइजका मनिष जर्घाले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

आजको विजेता चर्च ब्वाइजले बुधबार हुने पहिलो सेमिफाइनलमा सुनसरीसँगको भेट पक्का गरेको छ । शनिबारदेखि सुरु खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको थियो भने शनिबारको पहिलो उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

भोलि मङ्गलबार हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापासँग प्रतिस्पर्धा गर्नेछ ।

लाखे जात्राका अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा यस पटक आठ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ ।

प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ रूपैयाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *