मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

मकवानपुर, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले भदौ १८ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले उक्त मितिमा संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराउनुभएको हो ।

साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । उहाँले गत साउन २० मा संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकारको नेतृत्व ग्रहण गर्नुभएको थियो ।

सभामुख भुवनकुमार पाठकका अनुसार छलफलपछि मिति तोकिएको भए पनि औपचारिक पत्र प्राप्त हुने क्रममा छ, र सोहीअनुसार बैठकको समय निर्धारण गरिने छ ।

कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ साउन २० मा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

उहाँले आफ्नै दलका तत्कालीन नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गराउँदै दल नेता बन्नुभएको थियो । त्यसपछि लामालाई राजीनामा दिन बाध्य पार्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका उहाँले साउन १२ मा कांग्रेसका २ र एमालेका ६ मन्त्रीसहित एक बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *