अनुशासन समितिको कारबाहीप्रति डा. शेखर कोइराला समूह रुष्ट, रणनीति बनाउन आकस्मिक भेला

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एकपटक सतहमा आएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीमा संस्थापन इतर समूहका नेताहरूलाई लक्षित गरिएको भन्दै नेता डा. शेखर कोइराला पक्षधर रुष्ट बनेको हो । असन्तुष्टिका बीच भावी रणनीति तय गर्न डा. कोइरालाले बिहीबार बिहानका लागि आफ्नो समूहको आकस्मिक भेला बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय, विशालनगरमा बिहान ८ बजे बस्ने भेलामा आफू पक्षीय केन्द्रीय सदस्य, वर्तमान तथा पूर्वमन्त्री, सांसद र जिल्ला सभापतिहरूलाई बोलाइएको छ । ‘अनुशासन समितिको निर्णय पूर्वाग्रही र एकपक्षीय देखिएको छ, यसै विषयमा गम्भीर समीक्षा गर्दै आगामी कदमबारे छलफल गर्न भेला बोलाइएको हो,’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘यो निर्णयले पार्टी एकतामा गम्भीर असर पार्ने देखिन्छ ।’ के हो विवादको जड ? पार्टीको आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले हालै १८ जना नेता-कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो । २०७९ सालमा सम्पन्न स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र हराउन भूमिका खेलेको...

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एकपटक सतहमा आएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीमा संस्थापन इतर समूहका नेताहरूलाई लक्षित गरिएको भन्दै नेता डा. शेखर कोइराला पक्षधर रुष्ट बनेको हो ।

असन्तुष्टिका बीच भावी रणनीति तय गर्न डा. कोइरालाले बिहीबार बिहानका लागि आफ्नो समूहको आकस्मिक भेला बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय, विशालनगरमा बिहान ८ बजे बस्ने भेलामा आफू पक्षीय केन्द्रीय सदस्य, वर्तमान तथा पूर्वमन्त्री, सांसद र जिल्ला सभापतिहरूलाई बोलाइएको छ । ‘अनुशासन समितिको निर्णय पूर्वाग्रही र एकपक्षीय देखिएको छ, यसै विषयमा गम्भीर समीक्षा गर्दै आगामी कदमबारे छलफल गर्न भेला बोलाइएको हो,’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘यो निर्णयले पार्टी एकतामा गम्भीर असर पार्ने देखिन्छ ।’

के हो विवादको जड ?
पार्टीको आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले हालै १८ जना नेता-कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो । २०७९ सालमा सम्पन्न स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र हराउन भूमिका खेलेको आरोपमा उनीहरूलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको हो ।

तर, कारबाहीको सूचीमा परेका अधिकांश नेताहरू कोइराला समूहका भएको भन्दै उक्त पक्षले आपत्ति जनाएको छ । कारबाहीमा पर्नेहरूमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका जिल्ला सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसीजस्ता प्रभावशाली नेताहरू छन्, जो कोइराला समूहमा सक्रिय मानिन्छन् । कोइराला पक्षको दाबीअनुसार, १८ मध्ये अधिकांश नेता आफ्नो समूहका हुनुले यो कारबाही प्रतिशोध साध्ने मनसायले प्रेरित भएको प्रस्ट हुन्छ ।

यता, अनुशासन समितिले भने पर्याप्त प्रमाण र आधारमा टेकेर मात्र कारबाहीको निर्णय लिएको दाबी गरेको छ । समितिका संयोजक ढुंगानाका अनुसार, पार्टीका उम्मेदवारलाई हराउन सामाजिक सञ्जाल, अडियो/भिडियो तथा अन्य प्रमाणको प्रयोग गरी असहयोग गरेको पुष्टि भएपछि मात्र विधानअनुसार कारबाही गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *