![ल्हेन्दे खोला बाढी : ५७ जनाको उद्धार [अपडेट] ल्हेन्दे खोला बाढी : ५७ जनाको उद्धार [अपडेट]](https://hamrosambad.com/wp-content/uploads/2025/07/Uddar_Rasuwa.jpeg)
रसुवा, २४ असार । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन् ।
यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । यस्तै, ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छि हुँदै विभिन्न १७ स्थानमा २९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । हासम्म त्रिशुली नदीको विभिन्न चार स्थानमा मानव अङ्ग फेला परेको बताइएको छ ।