काठमाडौँ, १० असार । कुबेरमणि नेपाल ऊर्जा उद्यमी हुनुहुन्छ । जैविक ऊर्जा व्यवसायी संघ उपाध्यक्ष एवम् रिडी पावर कम्पनीको अध्यक्ष हुनुहुन्छ । उहाँले नेपालमा हरित कोइला उत्पादन गरिरहनुभएको छ । बकस रेन्युएबल इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर विदेशबाट आउने पत्थर कोइलालाई विस्थापित गर्नेगरी वनजंगलको झारपात सदुपयोग गर्दै हरित कोइला उत्पादन गरिरहेको छ । हरित कोइलाको महत्त्वबारे नेपाल न्यूज बैंकले नेपालसँग कुराकानी गरेको छ ।
हरित कोइला भनेको के हो ?
हरित कोइला चाहिँ के हो भने जुनसुकै प्रकारको बायोमासलाई धुलो बनाएर सानो प्लेटको फर्ममा अथवा ब्रिकेटको फर्मममा लान्छौँ । जुन हाम्रो देशको झारपात, खेर गएको बनको झाडी त्यस्तै गरेर स डस्ट (काठ मिलबाट निस्केको धुलो) प्लाइको भेनिएरको ह्स्टिहरु राखेर हामीले दुईओटा प्रोडक्ट बनाएका छौँ ।
एउटालाई बायोमास प्लेट भनिन्छ । अर्को चाहिँ बायोमास ब्रिकेट हो । जसलाई हरित कोइला भनेर चिनिन्छ । यो कारखाना सर्लाही जिल्लामा छ । त्यहाँका स्थानीयहरुले त्यसलाई कोइला फ्याक्ट्री भन्ने गरेका छन् ।
यसका लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
कच्चा पदार्थमा चाहिँ बनमा काम नालाग्ने झाडि वा कुनै पनि राम्रो खालको बायोमास पनि हुन सक्छ । हामीले धेरैजसो बनमा हुने बनमाराहरु चलाएका छौँ । स डस्ट भेनियरको ह्विस्ट तोरीको डाँठ, दाउरा, मसला र आँपको काठ आदी प्रयोग गरेर बनाउँछौँ ।
यसको प्रयोग कसरी गर्न सकिन्छ ?
हरित कोइला चाहिँ नयाँ प्रडक्ट हो । यो आफैँ बल्दैन, यसका लागि उपयुक्त खालको चुल्हो अथवा बर्नर आवश्यक हुन्छ । जुन बजारमा अहिले उपलब्ध नभएको हुनाले हामीले अहिले प्रविधि र कोइला दुईवटै बेच्नु परिरहेको अवस्था छ । हामीले विस्तारै त्यसको पनि बजारीकरण गरिरहेका छौँ ।
पछिल्लो दुई वर्ष पछिको अहिले तेस्रो वर्षमा चाहिँ उपभोक्ताहरु आफैँ जागरुक भएर चुल्होहरु वा बर्नरहरु पनि आफैँले बाहिरबाट झिकाइरहेको हुनाले बजार विस्तारै सुधारिँदै गएको अवस्था छ । तर, अझैँ पनि धेरै सर्वसाधारणहरुलाई यो कोइलाको बारेमा थाहै छैन । यसलाई चाहिँ हामीले बायोमास डिजेलको रुपमा लिन सकिन्छ । यसले कोइला, डिजेल, पेट्रोल र एलपी ग्यासलाई प्रतिस्थापन गर्दछ । यसलाई क्यासिकेसन प्रक्रियाबाट बाल्नुपर्ने हुन्छ । त्यसको लागि हामीलाई प्रबिधि चाहिन्छ । जति धेरै त्यस्तो प्रबिधि नेपालमा आयो त्यति धेरै नै यसको मार्केट बढेर जान्छ ।
हरित कोइला उपयोग गर्न सकिने चुल्हो नेपाली बजारमा छैन ?
नेपाली बजारमा यस्तो खालको चुल्हो पाइँदैन । त्यसकारण हामीले अहिले भारत र चीनबाट आयात गरिरहेका छौँ ।
त्यस्तो चुल्हो हाम्रै देशमा बनाउन सकिँदैन ?
बनाउन त सकिन्छ होला तर अहिले हाम्रोमा नबनेको हुनाले भारतबाट ल्याएर ग्राहकहरुलाई यो चुल्होको बारेमा पढाउँदै सिकाउँदै एलपी ग्यास र पेट्रोलियम पदार्थको प्रयोगभन्दा यसको प्रयोग कति किफायति भयो त भन्ने कुरा देखाउँछौँ । एलपीजी ग्यासको प्रयोगको सट्टा यसको प्रयोग गर्दा हुने फाइदाका बारेमा पनि सिकाउँछौँ ।
जसले यो प्रयोग गुर्न भएको छ उहाँहरुले बायोमासको माग विस्तारै एकपछि अर्को गरी बढाउँदै जानुभएको छ । ठुला खालका उद्योगहरु जस्तै भुजिया, दालमोठ पकाइरहनु पर्नेहरुका लागि त यसले धेरै ठुलो बचत गरेको छ । जसले यो प्रविधि प्रयोग गर्नु भएको छ उहाँहरुले फेरि फर्किएर हेर्नु परेको छैन ।
हरित कोइलाको प्रयोग कत्तिको खर्चिलो छ ?
चुल्हो चाहिँ खर्चिलो भएका कारण सरकारको अनुदान पनि आवश्यक छ । किनभने अहिले बजारमा ५/७ हजार रुपैयाँमा ग्यास सिलिन्डर र चुल्हो पाइन्छ । तर, यसलाई चाहिँ त्योभन्दा महँगो नै पर्छ । त्यसकारण घरायसी प्रयोगका लागि यो अलि खर्चिलो छ ।
औद्योगिक प्रयोजनका लागि चलाउँदा पनि ५/७ लाख देखि एक करोड रुपैयाँसम्म पर्न आउँछ । त्यसकारण प्रविधि अलि महँगो नै छ । तर, समग्रमा खपत हेर्ने हो भने करिब ६ महिनामा खर्च उठ्छ । तर, पनि एकैचोटी लगानी गर्न के भइरहेको छ भनेदेखि मान्छेहरु अलि हिचकिचाइरहेको अवस्था छ ।
एलपीजी, डिजेल र पेट्रोलियमको तुलनामा यसको प्रयोग कत्तिको सस्तो छ ?
सामान्यतया हामीले हेर्दाखेरी यसलाई कसरी हेर्छौँ भनेदेखि एक केजी ग्यास, पेट्रोल वा डिजेलले कति इनर्जी दिन्छ, त्यसलाई किलो क्यालोरीमा नाप्छौँ । सामान्यतया भन्नुपर्दा एक केजी एलपीजीले ११ हजार किलो क्यालेरी इनर्जी दिन्छ । डिजेलले ११ हजार २ सय क्यालोरी इनर्जी दिन्छ, पेट्रोलले पनि सोहि बराबरमा इनर्जी दिन्छ । यति इनर्जीका लागि डिजेल किन्न अहिलेको मूल्यअनुसार १५० रुपैयाँ सम्म तिर्नुपर्छ ।
एलपीजी किन्न १३५ रुपैयाँ तिर्नुपर्छ । अहिले हामीले उत्पादन गरेको प्लेटको मूल्य बजारमा प्रतिकिलो ३० रुपैयाँ छ । ३० रुपैयाँको प्लेटले ४ हजार २ सय किलो क्यालोरीको इनर्जी उतपादन गर्दछ । भाग गर्दाखेरी २ दशमलव २ केजी प्लेट हुँदा एक केजी ग्याँस बराबर हुन्छ । त्यसो गर्दाखेरी करिब ७५ रुपैयाँमा १३५ रुपैयाँको काम गर्दछ । त्यसकारण यसले एलपिजीमा करिब ४५÷५० प्रतिशत सम्म फाइदा गर्दछ । अझ डिजेलको तुलनामा त ५० प्रतिशत नै सस्तो पर्दछ ।